AArya
RUMPUM
animated ellipse animated ellipse

रकेट उडाउन नपाएका गाउँका बैज्ञानिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७४, आईतवार १६:५७
9
Shares
विराटनगर, २३ पुस / सिसवनी जहदा–४ रामचोकका नितिश सिंहले कक्षा १० को एसएलसी परीक्षा सकिएपछि रकेट बनाए । तीनमहिनाको छुट्टीमा बनाएको पाँच किलोको रकेट १५ सय फिट माथि उडेपछि उनले २१ किलोको अर्को नयाँ रकेट पनि बनाए । दोस्रो रकेट बनाएको एक वर्षभन्दा बढी समय भए पनि उनले परीक्षणको अनुमति भने पाएका छैनन् ।

‘नयाँ रकेट कम्तीमा आठ किलोमिटर माथि जाने गरी बनाएको छु’ उनले भने– ‘पटक–पटक उडाउने अनुमति मागे पनि पाएको छैन ।’उनलाई रकेट बनाउन कसैले सिकाएको भने होइन । स्कूल पढ्दा आफैंले अनुसन्धान गरेर बनाएको पहिलो रकेटको परीक्षण सफल भएकाले दोस्रो बनाएको उनी बताउँछन् ।

पहिलो रकेट बनाएर सफल परीक्षण गरेका उनी दोस्रो रकेट उडाउँनका लागि अनुमति नपाएका कारण निराश बनेका छन् । डेढ वर्षअघि उनले पाँच किलोको रकेट परीक्षण गर्न प्रशासनसँग अनुमति मागेका थिए । तर, प्रशासनले अनुमति नदिएपछि आफै उडाएका थिए ।

‘दिउँसो घरमा बनाउँदा सबै मान्छे हेर्न आउँथे’ उनले भने– ‘त्यही भएर काका मनोजकुमार सिंहको सहयोगमा राति २ बजेसम्म बसेर बनाएँ ।’ दुई महिनाको अवधिमा २१ किलो क्षमताको रकेट निर्माण गरेको उनले सुनाए ।

हाल शिक्षादीप उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्दै गरेका सिंहले नयाँ रकेटमा मुसाको परीक्षण गर्ने योजना बनाएका छन् । ‘अनुमति पाए मुसा उडाएर परीक्षण गर्ने थिएँ’ उनले भने– ‘निश्चित दुरीमा पुगेपछि मुसालाई प्यारासुटबाट जमीनमा झार्ने योजना छ ।’

उनले बनाएको रकेट हेर्न उच्च पदस्थ सरकारी कर्मचारी उनको घरसम्म पुगेका छन् । प्रतिभा हेर्न घर पुगेका उनीहरूले त्यतिबेला उनलाई सहयोगको पहल गर्ने आश्वासनसमेत दिएका थिए । ‘रकेट बनाउँदा सबैले सहयोग गरे’ उनले भने– ‘तर उडान परीक्षणका लागि तीन पटक निवेदन दिए पनि अनुमति पाइनँ ।’

आठ किलोमिटर उडानको परीक्षण सफल भए लगत्तै सय किलोमिटर माथि उड्ने नयाँ रकेट बनाउने योजना रहेको उनले सुनाए । तर एक वर्षदेखि उडान अनुमति नपाएकाले आफू निराश बनेको उनको भनाइ छ ।

‘आफूले जानेको प्रविधि स्वदेशमै बसेर प्रयोग गरौँ भन्ने सोच छ’ उनले भने– ‘भारतबाट फोन गरेर पढ्न बोलाए पनि स्वदेशमै बसेर केही गर्छु भनेर गएको छैन ।’

पहिलो पटक रकेट उडाएपछि उनलाई अध्ययनका लागि आउन आग्रह गर्दै केही भारतीय कलेजले उतै सम्पूर्ण व्यवस्था गरिदिने आश्वासनसमेत दिएको उनले बताए । तर देशमै बसेर केही गर्ने सोच बनाएकाले उनीहरूको प्रस्ताव अस्वीकार गरेको उनी बताउँछन् ।

कक्षा १२ मा विज्ञान विषय पढ्दै आएका उनी सहयोग जुटे नेपालबाटै रकेट उडाउन सकिने दाबी गर्छन् । ‘सबै पक्ष्ँबाट सहयोग पाएँ यो काम गर्न सक्छु भन्ने लाग्छ’ उनले भने– ‘स्वदेशमै बसेर प्राविधिक क्षेत्रमा केही नौलो काम गर्ने योजना छ ।’

सरकारले सहयोग नगरे पनि उनले नेपालमा केही गरौँ भनेर अगाडी बढेका यूवाको साथ भने पाएका छन् । प्राविधिक क्षेत्रमा सक्रिय भएर ‘क्रिएटिभ घर’ नामक संस्था सञ्चालन गर्दै आएका यूवाले रकेट निर्माण र परीक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले सुनाए ।

उनले बनाएको रकेट शुक्रबार र शनिबार विराटनगरको आरोहण गुरुकुलमा आयोजना गरिएको ‘मन्त्र च्याटिङ एण्ड टेक्नोलोजीमा’ प्रदर्शनीमा समेत राखिएको थियो । साभार उद्घोष दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर