खबर पूर्वाञ्चल
ग्रामीण भेगमा रहेका पत्रकारहरुलाई प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आज प्रेस युनियन बराहक्षेत्र शाखामार्फत दुई सञ्चारकर्मीहरुलाई खाद्यान्न वितरण गरेका हुन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर अहिले लकडाउनका कारण समस्यामा रहेका सञ्चारकर्मीहरुलाई खाद्यान्न सहयोग प्रदान गरिएको अधिकारीले बताए । उनले पत्रकारहरुले फुटेर भन्दा पनि जुटेर काम गर्नुपर्ने बताए । युनियन बराहक्षेत्र शाखाका सभापति संगम बिष्टमार्फत सञ्चारकर्मीलाई खाद्यान्न वितरण गर्ने गरि केन्द्रीय सदस्य हेमराज दाहालले खाद्यान्न दिएका थिए ।
यसैबीच आजै प्रेस युनियन सुनसरीले पत्रकार महासंघ धनकुटालाई दुई सय थान मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष बिजय सन्तोषी राई, प्रेस युनियन धनकुटाका पूर्व अध्यक्ष सुमन गुरागाईँ मार्फत पत्रकार महासंघ धनकुटाका सचिव बिदुर खवासलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
खवासले प्रेस युनियन सुनसरीले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नु सराहनीय कार्य रहेको बताए ।