३ मंसिर, विराटनगर / नेपालको सिमावर्ती नाका जोगवनीमा सामान किन्न जाने सर्वसाधरणहरुले विभिन्न समस्या झेल्नु परिरहेको छ ।
नेपाली बजारमा भन्दा केही सस्तो मूल्य पर्ने भएका कारण नेपाली ग्राहाकहरु सीमावर्ती जोगवनी लगायतका बजार सम्म सामान खरिदका लागि पुग्ने गरेका थिए । तर ती बजार पुग्ने गरेका सर्वसाधरणले विभिन्न समस्या भोग्नु परेको हो ।
‘एक साताबाट सामान खरिद गर्न जोगवनी आउनेले एक सय रुपैयाँ भन्दा तलका भारतीय नोट लिएर आउनु पर्छ,’ जोगवनीका व्यापारी कृष्णा गुप्ताले भने ‘अहिले यहाँ नेपाली नोटमा सामान विक्री गर्न सक्ने अवस्था छैन ।’
भारत सरकारले एक हजार र पाँच सयका ठूला नोटमा प्रतिबन्ध लगाएसंगै सीमावर्ती भारतीय बजारमा नेपाली नोट समेत चल्न छाडेका हुन् ।
उपभोक्ताबादी संस्था पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुँगेल भारतले चल्तीका ठूला नोटमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको बताउछन् ।
जोगवनीका अर्का व्यापारी राकेश मिश्रका अनुसार यस अघि नेपाली ठूला तथा साना नोट सीमावर्ती भारतीय बजारमा चल्थ्यो । तर सीमावर्ती बजारमा नेपाली नोट चल्ने नचल्ने भन्ने कुरा भारत सरकारले बनाउने मौद्रीक नीतिमा भर पर्ने जानकारी बताइएको छ ।
जोगवनी बजारमा नेपाली नोट चल्न छाडेसंगै त्यहाँ नेपाली ग्राहाकको चहलपहल पनि कम भएको छ । सीमावर्ती बजारमा घरायशी सामानदेखि बिस्कुट, चिनी, चियापत्ती, पानजन्य मसला, साबुन, दाल, चामल तथा कपडा लगायत खरिद गर्न नेपाली उपभोक्ताहरु जाने गरेका छन् ।