RUMPUM
animated ellipse animated ellipse

एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले गम्भीर स्वास्थ्य चुनौती निम्त्याउँदै–मन्त्री पराजुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०८३, मंगलवार १५:५४
3
Shares
विराटनगर/ चेतनाको कमी, अस्वस्थ जीवनशैली तथा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले समाजमा गम्भीर स्वास्थ्य चुनौती निम्त्याइरहेको कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले बताएका छन्।

आज विराटनगरमा कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि अन्तर मन्त्रालयगत सरोकारवालासँग आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै मन्त्री पराजुलीले सामान्य ज्वरो, रुघाखोकी तथा अन्य स्वास्थ्य समस्या देखिँदा पनि एन्टिबायोटिक सेवन गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले रुघामर्की तथा भाइरल संक्रमणमा एन्टिबायोटिकको अनावश्यक प्रयोगले भविष्यमा उपचारका लागि ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै समाजमा समयमै जनचेतना फैलाउन आवश्यक रहेको बताए।

मन्त्री पराजुलीले गाउँगाउँका औषधि पसल तथा स्वास्थ्य संस्थाको आसपास एन्टिबायोटिक औषधि सहजै उपलब्ध हुने तर त्यसको सही प्रयोगबारे पर्याप्त जानकारी नहुँदा मानव स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने उल्लेख गरे। आवश्यक नभएको अवस्थामा एन्टिबायोटिक प्रयोग गर्दा औषधिप्रति जीवाणुको प्रतिरोध क्षमता बढ्दै जाने र सामान्य संक्रमणको उपचारसमेत कठिन हुन सक्ने उनको भनाइ थियो।

प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि समाजमा चेतना र जागरण आवश्यक रहेको जोड दिँदै मन्त्री पराजुलीले राज्यले स्पष्ट मापदण्ड तथा कानुन बनाएर औषधि पसलहरूको अनुगमन, सेवा मूल्याङ्कन र नियमन गर्नुपर्ने बताए। गोष्ठीबाट प्राप्त सुझाव तथा निष्कर्षलाई आगामी दिनमा सरकारको नीति निर्माणको आधार बनाइने उनले उल्लेख गरे।

कार्यक्रममा प्रदेशका स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदीले एन्टिबायोटिकको जथाभावी प्रयोग घटाउन तथा अस्पतालभित्र हुने संक्रमण नियन्त्रण गर्न नियमनसँगै जनचेतना र स्पष्ट मापदण्ड आवश्यक रहेको बताए। कानुनी नियन्त्रण मात्रै पर्याप्त नहुने भन्दै उनले सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।

उनले कुन रोगमा, कहिले र कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्ने विषयमा स्पष्ट प्रोटोकल तथा उपचारसम्बन्धी निर्देशिका निर्माण गर्न आवश्यक रहेको बताए।

गोष्ठीमा डा. सभ्यता पन्थी, औषधि व्यवस्था विभागका राजेश श्रेष्ठ, डा. मुकेश नायक, डा. किशोर गुरुङ, नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, डा. रामहरी रेग्मीलगायतले स्थानीयस्तरमा एन्टिबायोटिक औषधिको सही प्रयोगसम्बन्धी सचेतना फैलाउनुपर्ने सुझाव दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर