पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
काठमाडौं /जर्ज मन्सेको आक्रामक शतकमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल०) को तेस्रो संस्करणको उपाधि जितेको छ ।
उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पाएको छ ।
आज टीयू क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ दशमलव ३ बलमा बिना विकेट क्षति पूरा गर्दै १० विकेटको शानदार जित निकालेको हो ।टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाउदा कप्तान रोहित पौडेलले ३० रन , निरोशन डिकवेलाले २८ रन , अली शेखले २४ रन र डार्सी सर्टले २१ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने थरिन्दु रत्नायके, दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए ।
१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि जर्ज मन्सेले आक्रामक ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ४९ बलमा ८ चौका र ८ छक्काको मद्दतमा शतक पूरा गरे। मन्से एनपीएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । यस्तै यस सिजन शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले शतक प्रहार गरेका थिए ।
यसअघि लगातार दुई संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो । पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले यसपटक लुम्बिनीलाई हराउँदै उपाधि उचालेको छ ।