RUMPUM
animated ellipse animated ellipse

खेलकुद प्रवर्द्धनमा कोशी र मधेशबीच सहकार्य वार्षिक क्यालेन्डर बनाएर पालैपालो प्रतियोगिता आयोजना गरिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० आश्विन २०८३, शुक्रबार २०:१३
3
Shares
विराटनगर /कोशी र मधेश प्रदेशबीच खेलकुद क्षेत्रको विकास, प्रवर्द्धन तथा खेल पर्यटन विस्तारका लागि दुई पक्षीय सहकार्य हुने भएको छ ।

दुई प्रदेशका खेलकुद निकायबीच आज विराटनगरमा ऐतिहासिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।

विराटनगर–१२ स्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोष र मधेश प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव शिवजीप्रसाद कानु (शिवजी गुप्ता) ले सम्झौतापत्रमा हस्ताक्षर गरे । समझदारी आगामी २०८४ असार मसान्तसम्म लागू रहनेछ ।

सम्झौताअनुसार दुवै प्रदेशले संयुक्त वार्षिक खेलकुद क्यालेन्डर तयार गरी पालैपालो (रोस्टर प्रणालीमा) नियमित रूपमा मैत्रीपूर्ण तथा उच्चस्तरीय प्रतियोगिताहरू सञ्चालन गर्नेछन् । प्रतियोगिता आयोजना गर्दा स्थानीय यातायात, आवास तथा व्यवस्थापकीय खर्च आयोजक प्रदेशले व्यहोर्नेछ भने सहभागी टोलीले आफ्नो यात्रा र पूर्वतयारी खर्चको व्यवस्थापन गर्ने सहमति भएको छ । प्रतियोगिता सञ्चालनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल सङ्घका नियम र मापदण्ड पालना गरिने समझदारीमा उल्लेख छ ।

खेलाडी, प्रशिक्षक, रेफ्री र अम्पायर तथा खेल प्रशासकहरूको दक्षता अभिवृद्धिका लागि संयुक्त तालिम, कार्यशाला तथा अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने सहमति पनि दुई प्रदेशबीच भएको छ । यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूका लागि खेलाडीको बन्द प्रशिक्षण, खेल पूर्वाधार र प्रविधिको साझेदारीमा समेत सहकार्य गरिने जनाइएको छ ।

कार्यक्रममा दुवै प्रदेशका सदस्य–सचिवले प्रादेशिक संरचना बनेपछि दुई छिमेकी प्रदेशबीच खेलकुद विकासका लागि भएको यो पहिलो संस्थागत सहकार्य भएको बताए । यसले खेलाडीहरूको क्षमता विकाससँगै दुई प्रदेशबीचको आपसी सम्बन्ध र खेल पर्यटनलाई थप मजबुत बनाउने उनीहरूको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर