पूर्वाञ्चल खबर
सिद्धार्थ स्पोर्टिङ क्लब, विराटनगर–९ को आयोजनामा आगामी असोज २७ र २८ गते दुईदिने प्रतियोगिता हुन लागेको हो।
विराटनगरको भीआईपी रोडस्थित जेनियल फुटसलमा आयोजना हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक प्रत्येक टिमका लागि प्रवेश शुल्क ४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगिता लिग तथा नकआउट प्रणालीका आधारमा सञ्चालन हुनेछ। सहभागी १२ टिमलाई चार समूह ग्रुप ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ मा विभाजन गरी खेलाइनेछ। प्रत्येक समूहमा तीन–तीन टिम रहनेछन्। समूह चरणबाट शीर्ष स्थान हासिल गर्ने चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् भने सेमिफाइनलका विजेता टोलीबीच उपाधिका लागि फाइनल भिडन्त हुनेछ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी उपविजेताले नगद ११ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई समेत आकर्षक पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकका अफतार अलीले जानकारी दिए ।
करिब एक लाख रुपैयाँको अनुमानित बजेटमा सम्पन्न हुने प्रतियोगिताको व्यवस्थापन टिम दर्ता शुल्क, स्थानीय संघ–संस्था, व्यावसायिक प्रतिष्ठान तथा प्रायोजकहरूको सहयोगबाट गरिने क्लबले जनाएको छ।
चाडपर्वको उल्लासमय वातावरणमा युवाहरूलाई खेलकुदसँग जोड्दै आपसी भाइचारा, सद्भाव र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। साथै, स्थानीय क्रिकेट प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु पनि प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ।