RUMPUM
animated ellipse animated ellipse

रामलाल गोल्छा आँखा अस्पतालमा १ लाख ४२ हजारको मोतियाविन्दुको शल्यक्रिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०८३, बिहीबार १८:४९
3
Shares
विराटनगर /रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले स्थापना भएदेखि हालसम्म १ लाख ४२ हजार ५ सयको मोतियाविन्दुको शल्यक्रिया गरेको जनाएको छ ।

शल्यक्रिया गरिएकामध्ये ५२ प्रतिशतलाई निःशुल्क सेवा प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । विश्व दृष्टि दिवसको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका उपाध्यक्ष श्याम पौडेलले सन् १९८३ मा स्थापना भएको अस्पताल पूर्वी नेपालकै पहिलो आँखा अस्पताल भएको जानकारी दिए। अस्पतालकी दृष्टि विशेषज्ञ संगीता ताजपुरियाका अनुसार अस्पतालले हालसम्म बहिरंग सेवामार्फत १९ लाखभन्दा बढीलाई सेवा प्रदान गरेको छ ।

अस्पतालले आँखासम्बन्धी विभिन्न रोगको उपचार, आधुनिक शल्यक्रिया तथा अनुसन्धानका काम गर्दै आएको उनले बताइन । अस्पतालका प्रबन्धक नवीनचन्द्रसिंह राजवंशीले अस्पतालबाट वार्षिक ७० हजार बिरामीले उपचार सेवा लिने गरेको जानकारी दिए । उनका अनुसार रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसनअन्तर्गत कोशी र मधेश प्रदेशमा गरी आठवटा उपचार केन्द्र सञ्चालनमा छन् । अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको उनले बताए ।

कोशी प्रदेशमा गरिएको राष्ट्रिय दृष्टिविहीनता सर्वेक्षण (आरएएबी) २०१८/२०२० अनुसार ५० वर्ष वा सोभन्दा माथिका ८ हजार ५९८ जना विभिन्न कारणले दृष्टिविहीन रहेको अनुमान छ । तीमध्ये ३ हजार २३८ जनाको दृष्टिविहीनताको कारण मोतियाविन्दु रहेको अनुमान गरिएको छ ।

रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसनअन्तर्गत विराटनगर आँखा अस्पताल, मेची आँखा अस्पताल, डा. रामप्रसाद पोखरेल सामुदायिक आँखा अस्पताल र धनकुटा आँखा अस्पताललगायतका प्रमुख सेवा केन्द्र सञ्चालनमा छन् । विश्वभर हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ । आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने यस वर्षको दिवसको नारा ‘आफ्ना आँखालाई माया गरौँ’ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर