पूर्वाञ्चल खबर
संघले घटनाको निष्पक्ष छानबिन गरी संलग्नहरूमाथि कडा कानुनी कारबाही गर्न स्थानीय प्रशासन र सरकारसँग माग गरेको हो।
कोहलपुर नगरपालिका–११ स्थित ‘थापा मेडिकल’ का सञ्चालक गणेशबहादुर थापामाथि असोज १७ गते एक समूहले पसलभित्रै प्रवेश गरी कुटपिट, धरपकड र गालीगलौज गरेको थियो। साथै, व्यवसायीको व्यक्तिगत तथा व्यावसायिक चरित्रमा आँच आउने किसिमले भिडियो सामाजिक सञ्जालमा फैलाइएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एनसीडिए मोरङ जिल्ला अध्यक्ष देशबन्धु ढकालद्वारा जारी विज्ञप्तिमा व्यवसायीबाट कुनै त्रुटि वा गैरकानुनी काम भएको भए प्रचलित कानुनबमोजिम छानबिन र कारबाही गर्ने निकाय हुँदाहुँदै कानुन हातमा लिएर आक्रमण गरिनु निन्दनीय भएको उल्लेख छ। कसैले लगाएको आरोपकै भरमा अनुसन्धानबाट पुष्टि नभई व्यवसायीमाथि भौतिक आक्रमण हुनुले कानुनी शासनको उपहास भएको संघको ठहर छ।
“स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा रहेर बिरामीको सेवामा समर्पित औषधि व्यवसायीहरूको व्यक्तिगत तथा पेसागत सुरक्षामाथि नै यस घटनाले गम्भीर प्रश्न उठाएको छ,” विज्ञप्तिमा भनिएको छ।
नागरिकको जिउधनको रक्षा गर्नु सरकारको दायित्व भएको स्मरण गराउँदै संघले घटनाको सूक्ष्म तथा न्यायोचित अनुसन्धान गरी अभद्र व्यवहार र भौतिक आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको छ।