RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड फेयरको तयारी अन्तिम चरणमा, एक लाख २५ हजार दर्शक आउने अपेक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० आश्विन २०८३, मंगलवार १७:५६
9
Shares
विराटनगर / विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म आयोजना हुने ‘विराट ट्रेड फेयर’को तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट व्यापार संघले जनाएको छ ।

विराटनगरस्थित जैन भवन परिसरमा आयोजना हुने फेयरको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रमोद अग्रवालले फेयरले विराटनगरको बजारलाई चलायमान बनाउँदै व्यापारिक क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

अग्रवालले फेयर अवधिभर करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने र एक लाख २५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । फेयर विराटनगरको व्यापारिक क्षेत्रका लागि एउटा राम्रो उदाहरण बन्ने उनको भनाइ थियो ।

फेयरका संयोजक श्याम पौडेलले फेयरमा आउने हजारौँ दर्शक तथा उपभोक्ताको आवागमनले विराटनगरका पसल, होटल तथा रेष्टुरेन्टको कारोबारसमेत बढ्ने अपेक्षा गरिएको बताए । उनका अनुसार फेयरलाई व्यापारिक गतिविधिमा सीमित नराखी चाडपर्वको समयमा उपभोक्ता र उद्योग–व्यवसायलाई जोड्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

फेयरमा एक सय वटा स्टल रहनेछन् । त्यसमध्ये ७८ वटा स्टल डोममा र बाँकी स्टल जैन भवन परिसरमा रहने आयोजकले जनाएको छ । फेयरमा व्यापार तथा किनमेललाई मुख्य प्राथमिकता दिइएको छ ।

फेयर अवधिभर स्थानीय ब्याण्ड तथा सांगीतिक समूहका प्रस्तुति पनि रहनेछन् । दैनिक फरक–फरक स्टलमार्फत उपहार वितरण गरिनेछ भने बम्पर उपहारका रूपमा एकजनालाई ईभी स्कुटरसहित अन्य सान्त्वना पुरस्कार प्रदान गर्ने तयारी गरिएको छ ।

बालबालिका तथा विद्यार्थीलाई आकर्षित गर्न यसपटक पहिलोपटक रोबोट प्रदर्शन गरिने आयोजकले जनाएको छ । पूर्वी क्षेत्रका पर्यटकीय क्षेत्र तथा दुर्गा पूजासँग सम्बन्धित आकर्षक सेल्फी जोनसमेत निर्माण गरिनेछ ।

विराट व्यापार संघमा हाल ४ हजार २ सय सदस्य रहेका छन् । संघले आयोजना गर्न लागेको फेयरलाई विराटनगरको व्यापारिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।  विराट व्यापार संघले १५ वर्षपछि दोस्रोपटक विराटनगरमा व्यापार मेला आयोजना गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर