RUMPUM
animated ellipse animated ellipse

ससुराको बन्चरो प्रहारबाट घाइते जीवन अस्पतालमा बेवारिसे, आफन्त नआउँदा उपचारमै संकट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०८३, सोमबार ०७:२२
3
Shares
विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय जीवनकुमार खापुङ यतिबेला विराटनगरस्थित आर्या न्यूरो हस्पिटलको ‘हाइ डिपेन्डेन्सी युनिट’ (एचडीयू) मा जीवन–मृत्युको दोसाँधमा छन् ।

एकातिर टाउकोको गम्भीर चोटसँग उनको संघर्ष चलिरहेको छ भने अर्कातिर अस्पतालको शय्यामा उनको रेखदेख गर्ने कुनै आफन्त छैनन् । आफ्ना मान्छेले नै अलपत्र छोडेपछि अस्पताल प्रशासनको भरमा उनको उपचार भइरहेको छ ।

घरायसी विवादका क्रममा गत भदौ ४ गते जीवनकुमारमाथि उनकै ससुरा देवेन्द्र खापुङले बन्चरो प्रहार गरेका थिए । बन्चरोको गम्भीर प्रहारबाट अचेत भएका उनलाई तत्काल विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटल ल्याइएको थियो ।

अस्पताल ल्याउँदा उनको टाउकोको हड्डी भाँचिएको र भित्र रगत जमेको अवस्था थियो । अवस्था अत्यन्तै जटिल भएपछि अस्पतालका निर्देशक एवं वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपाल नेतृत्वको चिकित्सक टोलीले तत्काल उनको आपत्कालीन शल्यक्रिया गरेको थियो ।

शल्यक्रिया सफल भए पनि उनको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा खतरामुक्त हुन सकेको छैन । हाल उनलाई एचडीयू वार्डमा चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ ।सुरुवाती दिनमा अस्पतालसम्म आएका आफन्तहरू बिस्तारै सम्पर्कविहीन बन्दै गएपछि अहिले उनको हेरचाह गर्ने कोही छैन । अस्पतालले मानवीय हिसाबले उपचारलाई निरन्तरता दिए पनि रेखदेख र औषधि–उपचारको व्यवस्थापनमा कठिनाइ भएको छ । “बिरामीको स्वास्थ्य अवस्था अझै पनि पूर्ण रूपमा खतरामुक्त भइसकेको छैन, निरन्तर निगरानी चाहिन्छ,“ हस्पिटलका निर्देशक दिनेश ठाकुरले भने, “अहिलेसम्म बिरामीका कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् । अस्पताल आफैंले जोखिम मोलेर उपचार जारी राखेको छ । तर, कुरुवा र रेखदेख गर्ने मान्छे समेत नहुँदा निकै समस्या परेको छ ।

’’प्रहरीका अनुसार जीवनकुमारले दुई वटा विवाह गरेका थिए । उनकी एक श्रीमती वैदेशिक रोजगारीमा छिन् भने अर्की श्रीमती सुन्दरहरैँचामै बस्दै आएकी छिन् । पारिवारिक विवादले उग्र रूप लिँदा ससुरा देवेन्द्रले ज्यानै लिने नियतले बन्चरो प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलबारीले अभियुक्त ससुरा देवेन्द्रलाई नियन्त्रणमा लिएर ‘ज्यान मार्ने उद्योग’ कसुरमा मुद्दा चलाएको थियो । उक्त मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छ । आपराधिक घटनामा संलग्न कानुनी कठघरामा पुगे पनि गम्भीर घाइते जीवनकुमार भने अस्पतालको शय्यामा आफ्नाहरूको प्रतीक्षा र बाँच्ने संघर्षमा एक्लै छटपटाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर