पूर्वाञ्चल खबर





रथ मन्दिरको मूल ढोकाबाट सडकमा आइपुग्दा हजारौँ हातहरू एकैपटक भगवान् श्रीकृष्ण र राधाको जयजयकारमा ठडिएका थिए । सडकको दुवैतिर बसेका श्रद्धालुहरूले रथमा फूल र प्रसाद अर्पण गर्दै गर्दा सहरको माहोल पूर्णतः आध्यात्मिक बनेको थियो ।
दक्षिण एसियाकै दोस्रो ठूलो रथको भव्यता
दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको यस रथयात्राको मुख्य आकर्षण २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो कलात्मक रथ नै थियो । प्यागोडा शैलीमा निर्माण गरिएको यो रथलाई डोरीको सहायताले हजारौँ भक्तजनले तानेका थिए । रथको अगाडि विभिन्न जातजाति र समुदायका दर्जनौँ झाँकीहरूले नेपालको सांस्कृतिक विविधतालाई सडकमा उतारेका थिए ।
विभिन्न धार्मिक संघसंस्थाका तर्फबाट प्रस्तुत झाँकी, भजन मण्डली र पौराणिक भेषभूषाले रथयात्रालाई थप उचाइ प्रदान गरेको थियो ।
यस वर्षको रथयात्रा केवल धार्मिक विधिमा मात्र सीमित रहेन, यसले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई पनि स्पर्श गरेको छ । रथयात्राका क्रममा संकलन हुने सम्पूर्ण भेटी भोटेकोशी बाढीपीडितको राहतका लागि प्रदान गर्ने निर्णय मन्दिर व्यवस्थापन समितिले गरेको छ ।
यात्राका क्रममा रथसँगै लगिएका तीनवटा ठूला दानपेटिकामा श्रद्धालुहरूले आफ्नो गच्छेअनुसार स्वतःस्फूर्त रूपमा दान गरेका थिए । संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत पीडितसम्म पुर्याइने समितिले जनाएको छ । धर्मलाई समाजसेवा र परोपकारसँग जोड्ने यो उदाहरणीय कदमको विराटनगरका स्थानीय बासिन्दा र नागरिक समाजले खुलेर प्रशंसा गरेका छन् ।
डिजेको कोलाहल
रथयात्रा सुरु हुनुअघि आयोजक र स्थानीय प्रशासनले यस पटक धार्मिक गरिमा कायम राख्न चर्को आवाजमा बज्ने ‘डिजे साउन्ड’ लाई पूर्णतः निषेध गर्ने घोषणा गरेको थियो । रथमा जडान गरिएका हर्न र माइकबाट मात्र भजन बजाउने योजना बनाइएको थियो । तर, व्यवहारमा भने त्यो घोषणा पूर्ण रूपमा कार्यान्वयन हुन सकेन ।
यात्राका क्रममा अगाडि रहेका केही झाँकीहरूमा युवाहरूले चर्को आवाजमा आधुनिक डिजे गीत बजाएर नाचगान गरिरहेका थिए । यसले एकातिर आध्यात्मिक भाव हराउँदै गएको भन्दै पाका पुस्ताका श्रद्धालुहरूले गुनासो गरे भने अर्कोतिर युवा पुस्ताको सक्रियताले माहोललाई निकै उल्लासमय बनाएको थियो । मन्दिर प्रशासनले भने आगामी वर्षहरूमा यस्ता अवाञ्छित गतिविधि रोक्न अझ कडाइका साथ नियमन गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
९५ वर्षको ऐतिहासिक विरासत
विराटनगरमा रथयात्राको इतिहास करिब एक शताब्दी पुरानो छ । वि.सं.१९८८ देखि सुरु भएको यो यात्राको जग ुखट यात्राु बाट बसेको थियो । सुरुवाती दिनमा मन्दिर स्थापनापछि साना खटमा भगवान्को मूर्ति राखेर नगर परिक्रमा गराइन्थ्यो । तर, वि.सं. २०२५ देखि यसलाई भव्य रथको स्वरूप दिएपछि यसले रथयात्राको पहिचान पायो ।
खट यात्राको गणना गर्दा यो परम्परा ९५औँ वर्षमा पुगेको छ भने रथयात्राका रूपमा यो ५९औँ संस्करण हो । यो दीर्घकालीन विरासतले विराटनगरलाई नेपालको धार्मिक पर्यटनको एउटा महत्वपूर्ण केन्द्रका रूपमा विश्वभर चिनाएको छ ।
८ किलोमिटरको भक्ति यात्रा
तीनपैनी चोकबाट सुरु भएको रथयात्राले नगरको मुख्य भागको करिब ८ किलोमिटर दूरी तय गरेको थियो । यात्रा तीनपैनी, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढेको थियो । त्यहाँबाट बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः मन्दिरमा पुगी विसर्जन भएको थियो ।
यात्राका क्रममा विभिन्न ४४ स्थानमा रथलाई विश्राम गराइएको थियो, जहाँ श्रद्धालुहरूले भगवानलाई अघ्र्य दिने र दर्शन गर्ने अवसर पाएका थिए । समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार, हरेक विश्राम स्थलमा भक्तजनको चाप व्यवस्थापन गर्न सयौँ स्वयंसेवकहरू अहोरात्र खटिएका थिए ।