पूर्वाञ्चल खबर
सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ ।जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो ।
घाइतेमध्ये देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको आज दिउँसो मृत्यु भएको हो । विराटनगरको न्युरो अस्पतालमा उपचाररत उनलाई दिउँसो १ः२४ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो ।
गत सोमबार उनको शल्यक्रिया भयो । शल्यक्रिया सम्पन्न भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचाररत अवस्थामै उनको मृत्यु भएको डीएसपी मिश्रले बताए ।
जयप्रकाशको ज्यान गएसँगै कप्तानगन्ज गोलीकाण्डमा मृतकको संख्या दुई पुगेको हो । कप्तागन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
घाइतेमध्ये नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको अवस्था पनि गम्भीर छ। उनको बायाँ हात र कोखामा गोली लागेको थियो। शल्यक्रिया गरेर गोली निकालिए पनि उनी भेन्टिलेटरमै उपचाररत छन्।
आइतवार राति गोली लागेर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोहि राति निधन भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल पुर्याउनसाथ आइतबार राति १०ः४० बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएका थिए । दुबै जनाको शव अहिलेसम्म अस्पतालमै छ ।
उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जना अहिले पनि विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचाररत छन् । उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।