पूर्वाञ्चल खबर
प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको संख्या र अवस्था हेरेर आवश्यकताको आधारमा रहनु पर्ने प्रशिक्षकहरूको संख्यामा कतै धेरै त कतै शून्य देखिएको हो।
कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्डमातहतका जिल्ला खेलकुद समितिका निर्देशनमा खटिने प्रशिक्षकको संख्या कुनै जिल्लामा अत्यधिक देखिँदा कतै भने शून्य रहेको पाइएको छ। प्रदेशको सम्भावना रहेको भनिएको कराँते खेलमा कुनै जिल्लामा १२ जना प्रशिक्षक रहँदा अधिकांश जिल्लामा भने प्रशिक्षकको संख्या शून्य पाइएको हो।
कराँते खेलमा झापामा मात्रै १२ जना प्रशिक्षक रहँदा प्रदेशका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा भने प्रशिक्षकको संख्या शून्य रहेको छ। त्यस्तै, पाँचथरमा १ , इलाममा ४, मोरङमा ३, सुनसरीमा ४, खोटाङमा २ र धनकुटामा १ जना कराते प्रशिक्षक कार्यरत रहेको छन्।
एउटा खेलमा एकै जिल्लामा दर्जन हाराहारी प्रशिक्षक हुनु र प्रदेशका अन्य जिल्लामा प्रशिक्षक नै नहुनुलाई खेलकर्मीहरूले स्वाभाविक मान्न नसकिने बताउँछन् जिल्लामा प्रशिक्षक नहुँदा कतै स्वयम् सेवक प्रशिक्षकहरूले खेलाडीलाई प्रशिक्षण दिइरहेको तर प्रतियोगिताहरूमा छनोट गर्ने लगायत विषयमा सरकारी प्रशिक्षकहरूको भूमिका रहने कारणले खेलकर्मीहरू बोल्न नसकेको नाम नबताउने सर्तमा भोजपुरका एक खेलकर्मी भने।
प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य सचिव विप्लव घोष भने बोर्डले छिट्टै प्रदेशका सबै जिल्लामा प्रशिक्षक व्यवस्थापन गर्ने तयारी गरिरहेको बताए। उनले बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, कोशी प्रदेशमा हुने राष्ट्रपति रनिङ शिल्ड लगायतको प्रतियोगिताका लागि सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्दा प्रशिक्षकको संख्या लगायतको विषयमा समेत कुरा आइरहेकोले सो विषयमा बोर्डले छिट्टै निर्णय लिने बताए।
ुप्रशिक्षक धेरै भएको जिल्लाबाट अन्य जिल्लामा व्यवस्थापनदेखि प्रशिक्षक नियुक्ती समेत गर्नु पर्ने छु , घोषले भने, ु खेल क्षेत्र र खेलकर्मीहरूलाई न्याय हुने गरी र खेलक्षेत्रको विकास हुने गरी व्यवस्थापन गर्ने बोर्डको तयारी छ।
कोशी प्रदेशमा कराँतेको प्रशिक्षकको संख्या धेरै हुँदा अन्य धेरै खेलको सरकारी प्रशिक्षकहरूको संख्या भने अत्यन्तै न्यून छ। खेल पूर्वाधारको अभाव देखि लिएर स्रोतको अभाव भन्दै लामो समयदेखि प्रशिक्षकको पदपूर्ति हुन सकेको छैन।
प्रतियोगिताको बेलामा भने बोर्डले अस्थायी प्रशिक्षक नियुक्ती गरेर काम गर्दै आइरहेको छ।