AArya
RUMPUM
animated ellipse animated ellipse

कार्गो रेल सञ्चालनमा आएपछि ढुवानी लागत कम हुन्छ : अध्यक्ष राउत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ श्रावण २०८३, मंगलवार १९:३८
27
Shares
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आज विराटनगरमा भारत र चीनसँगको अन्तर्राष्ट्रिय व्यापारमा कोशी प्रदेशको सम्भावना एवं एकीकृत जाँच चौकी (आइसिपी) को पूर्वाधार विकास लगायतका सुधारका क्षेत्रहरुका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सहसचिव रवि शंकर सैंजू एवं भन्सार सुधार तथा व्यापार सहजीकरण विज्ञ श्याम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेशको व्यापारिक भविष्य र विद्यमान चुनौतीबारे विस्तृत छलफल भएको थियो।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको भारतीय रेल कार्गोलाई नेपालको भन्सार बिन्दुसम्म ल्याउने माग सम्बोधन भएकोमा खुसी व्यक्त गरे । ‘रेल कार्गो सञ्चालनमा आएपछि ढुवानी लागत कम हुने, औद्योगिक कच्चा पदार्थको लागत घट्ने, सामान बढी सुरक्षित हुने र चोरी हुने सम्भावना न्यून हुने हाम्रो अपेक्षा छ,’ अध्यक्ष राउतले भने ।

यद्यपि, पूर्वाधारको अभावप्रति संकेत गर्दै उनले अहिले आइसिपीमा गोदाम, क्रेन र अनलोडिङ उपकरण पर्याप्त नहुँदा सामान व्यवस्थापनमा ढिलाइ भई उद्योगीले ‘डेमरेज’ शुल्क तिर्नुपर्ने जोखिम रहेको औंल्याए । साथै, रेल कार्गो ठूलो परिमाणमा आउने भएकाले साना तथा मझौला व्यवसायीहरु यस सुविधाबाट वञ्चित हुन सक्नेतर्फ पनि उनले ध्यानाकर्षण गराए ।

अध्यक्ष राउतले कोशी प्रदेश भारत, चीन, बंगलादेश र भुटानको मुख्य प्रवेशद्वार भएकोले यसलाई दक्षिण एसियाकै एक प्रमुख ‘ट्रान्जिट हव’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘यस प्रदेशमा उत्पादित चिया, अलैंची, अदुवा, बेसार जस्ता कृषिजन्य वस्तुको निर्यात प्रवर्द्धनका लागि छुट्टै एक्स्पोर्ट हाउस निर्यात गृहको आवश्यकता छ,’ उनले भने ।

व्यापार सहजीकरणका लागि सरकारी निकायहरूबीच समन्वयको अभाव रहेको उल्लेख गर्दै उनले एकल विन्दु सेवा लागु गर्नुपर्ने, भन्सार नाकाहरूमा आधुनिक प्रयोगशाला र प्रविधिको विकास गरिनुपर्ने माग राखे ।

बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापन गर्ने र निर्यातजन्य उद्योगहरूको स्थापनामा राज्यले विशेष जोड दिनुपर्ने उनको भनाइ थियो।

अन्तरक्रियामा सहभागी विज्ञहरूले कोशी प्रदेशको वैदेशिक व्यापारलाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार र नीतिगत सुधारमा जोड दिनुपर्ने सुझाव दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर