पूर्वाञ्चल खबर
रिसोर्टमा कुक (भान्से) का रूपमा कार्यरत यादव आज बिहान करिब ९ बजेतिर रिसोर्टकै स्वीमिङ्ग पुलमा पौडी खेल्न गएका थिए । सीसीटिभी फुटेजमा उनी एक्लै पौडी खेल्न छिरेको र त्यसको केही समयपछि डुबेको देखिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी तब भयो, जब उनका सहकर्मीहरूले उनलाई फोन गरे । यादवको मोबाइल फोन स्वीमिङ्ग पुल बाहिरै बजिरहेको तर उनले नउठाएपछि खोजी गर्ने क्रममा उनी पुलको पानीभित्र डुबेको अवस्थामा फेला परेका थिए । तत्कालै प्रहरीलाई खबर गरेपछि मोरङ प्रहरीका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
मोरङ प्रहरीका उपरीक्षक (एसपी) कबित कटुवालका अनुसार प्रारम्भिक अनुसन्धानमा पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने देखिएको छ । ‘बिहानको समयमा उनी एक्लै पौडी खेल्न गएको सीसीटिभीमा देखिन्छ, त्यहाँ अचानक शरीरले काम नगरेपछि उनी डुबेको बुझिएको छ,’ एसपी कटुवालले भने,‘यद्यपि, घटनाको वास्तविक कारण पत्ता लगाउन हामीले सुक्ष्म रूपमा अनुसन्धान अगाडि बढाएका छौँ ।’
नयाँ काम सुरु गरेको छोटो समयमै १५ दिनमै यस्तो दुःखद घटना भएपछि रिसोर्टमा कार्यरत अन्य कर्मचारी र परिवारजन शोकमा छन् । प्रहरीले शवको कानुनी प्रक्रिया र पोष्टमार्टमपछि थप तथ्य खुल्ने जनाएको छ ।