पूर्वाञ्चल खबर
मन्त्री लिम्बुले झापाको प्रादेशिक अस्पताल भद्रपुर, मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल र उदयपुरको कटारी अस्पताललाई गरी कुल ७ थान भेन्टिलेटर वितरण गर्ने निर्णय गरेका छन् । अचम्मको कुरा के छ भने, कतिपय अस्पतालले निवेदन दिएकै दिन मन्त्रीले मन्त्रीस्तरीय निर्णयमार्फत उपकरण दिन स्वीकृति दिएका छन् ।
स्वास्थ्य मन्त्री लिम्बुले असार १२ गते मन्त्रीस्तरीय निर्णय गर्दै संघीय सरकार मातहत रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल (गोठगाउँ) लाई दुई थान भेन्टिलेटर उपलब्ध गराएका छन् । शिक्षण अस्पतालले मन्त्रालयमा भेन्टिलेटर आवश्यक परेको भन्दै पत्र दर्ता गराएकै दिन मन्त्रीले तुरुन्तै फाइल सदर गरेका हुन् ।
पूर्वाञ्चल शिक्षण अस्पताललाई उपकरण दिएको दुई सातापछि असार २९ गते झापाको प्रादेशिक अस्पताल भद्रपुर (मेची अस्पताल) लाई तीन थान भेन्टिलेटर, ५ थान सिरिन्ज पम्प र ५ थान इन्फ्युजन पम्प दिने निर्णय भयो । भद्रपुर अस्पतालले असार १७ गते एनआईसीयू र आईसीयूका लागि उपकरण माग गरेको थियो ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको अभिलेख अनुसार भद्रपुर अस्पतालमा कोभिड कालमा विभिन्न दाता र मन्त्रालयले दिएका १४ थान भेन्टिलेटर अझै थन्किएकै अवस्थामा छन् । ती उपकरण हुँदाहुँदै फेरि नयाँ माग गरिएको विषयमा अस्पतालका मेसु डा. सञ्जय कुमार गुप्ताले भने, ‘अस्पतालमा वर्षौँदेखि उपकरण माग गरिएको थियो, अहिले प्राप्त भयो । पहिलेका उपकरणहरू कोभिड कालका हुन्, हाम्रा बायोमेट्रिक इन्जिनियरले ती नचल्ने बताएपछि थन्काउनु परेको हो ।’
त्यसैगरी, उदयपुरको कटारी अस्पताललाई पनि २ थान भेन्टिलेटर उपलब्ध गराउने निर्णय मन्त्रालयले गरिसकेको छ । शैलजा आचार्य हृदय केन्द्रका मेसु डा. वैभव मल्लिकका अनुसार मन्त्रालयको निर्णयपछि उपकरणहरू पठाइएको हो । अस्पतालमा सुरुमा ३५ थान भेन्टिलेटर थिए, जसमध्ये पूर्वाञ्चल विश्व विद्यालयले २ थान र भद्रपुरले तीन वटा मध्ये एउटा लगेका छन् भने कटारीले लैजान बाँकी छ । अब त्यहाँ ३२ थान मेसिन बाँकी रहनेछन् ।