AArya
RUMPUM
animated ellipse animated ellipse

अभिष गिरीलाई कारावहीको माग राख्दै कारागार भित्र कैदीबन्दीको प्रर्दशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ असार २०८३, शनिबार १८:०२
3
Shares
विराटनगर / मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूको सरकारी भत्ता र श्रमको पारिश्रमिक अवैध रूपमा असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेका छन् ।

गिरीको गिरफ्तारीसँगै मोरङ कारागारभित्र आज कैदीबन्दीहरूले प्रदर्शन गरेका छन् ।

कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने जाडो र गर्मीको कपडा भत्ता दुरुपयोग गरेको आरोपमा गिरीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

गिरी पक्राउ परेपछि कारागारभित्रका कैदीबन्दीहरूले ‘अभिषेक गिरीको दमन कहिलेसम्म ?’ र ‘उनलाई कारबाही हुनुपर्ने’ लगायतका मागसहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीलाई विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

गिरी पक्राउ परेपछि उनीसँगको मिलेमतोको आशङ्कामा प्रहरीले कारागारका वर्तमान नाइके राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन खोज्दा कैदीबन्दीले नाराबाजी गरेका थिए । नाइके यादवलाई कारागारबाट अन्यत्र सार्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

कैदीबन्दीले गिरीलाई कारबाही गर्नुपर्ने तर यादवलाई सरुवा गर्न नपाइने माग राखेका छन् । कारागारभित्र तनाव बढेपछि प्रहरीले यादवलाई पुनः कारागारमै फर्काएर बयान लिन सुरु गरेको छ ।

गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने जाडो र गर्मीको लुगा भत्ता तथा उनीहरूले कारागारभित्र मुडा र गलैँचा बुनेर कमाएको रकम समेत जबरजस्ती लिने गरेको आरोप छ ।

हाल मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी रहेका छन् । उनीहरूले दैनिक ८० रुपैयाँ खाजा भत्ता पाउँछन् । यसबाहेक सरकारले वार्षिक रूपमा जाडो र गर्मीका लागि प्रति कैदी ५ हजार रुपैयाँ ९दुई पटक गरी २५ सयका दरले कपडा भत्ता उपलब्ध गराउँछ ।

कारागारभित्र करिब ५ सय जनाले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको रकम र सरकारी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा आफ्ना सहयोगीको खातामा पठाउन लगाएर असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मुकेन्द्रकुमार मिश्रले भने, “कैदीबन्दीको भत्ता रकम दुरुपयोग भएको गुनासो आएपछि अनुसन्धानका लागि गिरीलाई नियन्त्रणमा लिइएको हो । अहिले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।”

पक्राउ परेपछि छाती दुखेको बताएका गिरीलाई हाल कोशी अस्पताल विराटनगरको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष सजाय भुक्तान गरी दुई वर्षअघि कारागारमुक्त भएका गिरीले बाहिर बसेर पनि कारागारको आन्तरिक व्यवस्थापनमा हस्तक्षेप र आर्थिक शोषण गरिरहेको आरोप लाग्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर