AArya
RUMPUM
animated ellipse animated ellipse

लागु औषध दुव्र्यसन नियन्त्रणमा सहयोग गर्ने –मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० जेष्ठ २०८३, आईतवार २०:११
3
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागु पदार्थको दुव्र्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलव्ध गराउने बताएका छन्।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज विराटनगरमा आयोजित लागु औषध दुव्र्यसन विरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै उनले लागु औषध दुव्र्यसन व्यक्तिको मात्र नभएर परिवारको विघटन, समाजको विकृति र सिंगो राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक रहेकोले यसको नियन्त्रणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

मुख्यमन्त्री कार्कीले लागु औषध विरुद्धको लडाइँलाई प्रहरीको मात्र जिम्मेवारी नभएर प्रत्येक घर, विद्यालय र समुदायको साझा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले लागु औषधमा परेका युवाहरूको पुर्नस्थापनाका लागि कोभिडको समयमा निर्माण गरिएका मोरङको रानी विराटनगर र झापाको काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टरलाई सुधार गृहको रुपमा विकास गरी जिल्ला प्रशासन कार्यालय मातहत सञ्चालन गर्र्नु पर्नेमा जोड दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले युवा मुलुकको सम्पत्ति भएको क्षणिक स्वतन्त्रताका निम्ति जीवन नष्ट नगर्न आग्रह गरे।
उनले सरकारले दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम आगाडि वढाएको बताए।

प्रतिनिधि सभाका सांसद सन्तोष राजवंशीले लागु पदार्थ दुव्र्यशनी समाज र राष्ट्रको साझा समस्या भएको यसको नियन्त्रणमा हामी सबै जिम्मेवारीका साथ गर्नु पर्ने बताए ।

विराटनगरका महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमा क्षेत्रमा हुने लागु औषधको ओसार पसार नियन्त्रण एवं दुव्र्यसन मुक्त समाज निर्माण गर्नु हामीसबैको जिम्मेवारी भएको बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल ,गृहमन्त्रालय सह सचिव सुमन घिमिरेले भौतिक पूर्वाधारको विकास संगै दुव्यसनी मुक्त समाज निर्माण गर्न एक जुट भएर लाग्नु पर्नेमा जोड दिए।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले युवा जागेमा समाज र राष्ट्र बन्ने हुनाले लागु औषध नियन्त्रणमा सक्रिय रुपमा लाग्न आग्रह गरे। उनले लागु औषधको अवैध कारोबार र सीमापार तस्करीमा संलग्न अपराधीहरू विरुद्ध शून्य सहनशीलता अपनाउनुका साथ कानुनको कडा दायरामा ल्याइने विचार राखे ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कट्वाल, कोशी अस्पतालकी डा प्रजिता पौडेल, गैर सरकारी संस्थाकी अध्यक्ष विष्णु शर्मा पन्त, पूर्व दुव्र्यसनीहरु कपिल आचार्य, संजिव चापागाई र अनुप सापकोटाले दुव्र्यसनी अपराधी नभएर विरामी भएकाले उनीहरुलाई परिवारको माया र समाजको सहयोग चाहिने विचार राखेकाछन् ।

कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लागु औषधका एक हजार ४३७ मुद्धा दर्ता भएको छ भने सोही अवधिकमा दुई हजार २०३ जना पक्राउ परेको सो अवसरमा सार्वजनिक गरिएको प्रदेशगत विवरणमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर