AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेवार संस्कृति संरक्षणमा जोड 

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ बैशाख २०८३, सोमबार २०:४५
3
Shares
विराटनगर / नेवार समुदायको भाषा, कला र संस्कृतिको संरक्षणलाई केन्द्रमा राख्दै नेवाः दया दबू विराटनगर–८ ले नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गर्नुका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।

कार्यक्रममा ७० देखि ९५ वर्ष उमेर समूहका ४० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

सम्मानित व्यक्तिहरूलाई प्रतीकात्मक रूपमा इलेक्ट्रिक जग प्रदान गरिएको थियो, जसलाई आधुनिक सुविधा र सम्मानको संयोजनका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र वडा नं. ८ का अध्यक्ष राम पोखरेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै कार्कीले नेवारी कला र संस्कृति नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह सक्रिय रहेको बताइन्। उनले भाषा, संस्कृति र परम्पराको निरन्तरताका लागि समुदायस्तरमै पहल आवश्यक रहेको धारणा राखिन्।

वडाध्यक्ष पोखरेलले संस्कृति संरक्षणको आधार पुस्तान्तरण भएको उल्लेख गर्दै नयाँ पुस्तामा भाषा र परम्परा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

नेवाः दया दबू विराटनगर–८ का अध्यक्ष राजेश गुवाजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा २०८३ सालको भित्तेपात्रो विमोचन गरिएको थियो।

भित्तेपात्रोमा नेवार समुदायका चाडपर्व, परम्परा र सांस्कृतिक गतिविधिलाई समेटिएको छ, जसले नयाँ पुस्तालाई सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, झीः पुच विराटनगरका अध्यक्ष शरद श्रेष्ठ, भाषाविद गणेश ब्रजाचार्य, नेवाः दया दबू जिल्ला सदस्य विशाल श्रेष्ठ, नगर अध्यक्ष अमरबहादुर श्रेष्ठ, मिसाः देबू महानगर अध्यक्ष निर्मला श्रेष्ठ, कटहरी गाउँपालिकाका सचिव राजन श्रेष्ठ, नेवाः दया दबू सचिव सुनिलकुमार श्रेष्ठ, नेवाः दया दबू विराटनगर–११ का सल्लाहकार केदार श्रेष्ठलगायतले समुदायको पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षण अपरिहार्य रहेको धारणा राखेका थिए।

सांस्कृतिक पहिचानसँगै सामाजिक एकताको सन्देश दिने यस्ता कार्यक्रमले स्थानीय स्तरमा सांस्कृतिक पुनर्जागरणलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर