पूर्वाञ्चल खबर
विराटनगरस्थित संघको आफ्नै भवनमा आज आयोजित कार्यक्रममा व्यवसायीहरूलाई व्यावसायिक मर्यादा र प्राविधिक पक्षबारे जानकारी दिइएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि औषधि व्यवस्था विभाग विराटनगरकी निमित्त प्रमुख सचिता वर्माले समयसँगै औषधि क्षेत्रमा आएका परिवर्तनलाई आत्मसात गर्न यस्ता तालिम अपरिहार्य रहेको बताइन् । उनले व्यवसायीहरूलाई औषधिको समुचित प्रयोग र कुशल भण्डारणमा विशेष ध्यान दिन आग्रह गरिन् ।
“अहिलेको मुख्य आवश्यकता भनेकै कुशल फार्मेसी अभ्यास र कुशल औषधि भण्डारण तथा बिक्री–वितरण अभ्यास लाई प्रभावकारी बनाउनु हो,’ वर्माले भनिन्, “औषधि बिक्री–वितरण संहिता २०८० कार्यान्वयनमा केही कठिनाइ देखिए पनि अब हामीले आधुनिक अभ्यासलाई पछ्याउनै पर्छ । व्यवसायीहरूले औषधिको गुणस्तर कायम राख्न भण्डारण र वितरण प्रणालीमा सुधार ल्याउनु जरुरी छ ।’’
कार्यक्रममा औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी सुपरभाइजर दीपेन्द्र खड्काले प्राविधिक सहजीकरण गरेका थिए । उनले औषधि क्षेत्र संवेदनशील भएकाले तालिममा सिकेका सैद्धान्तिक कुराहरूलाई व्यवहारमा उतार्न व्यवसायीहरूलाई आग्रह गरे । सही तापक्रममा औषधिको भण्डारण र उपभोक्तालाई सही परामर्शसहितको बिक्री–वितरणले मात्र जनस्वास्थ्य सुरक्षित हुने उनको भनाइ थियो ।
नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले व्यवसायीको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताए । “औषधि व्यवसायी केवल व्यापारमा मात्र सीमित छैनन्, हामी समाजप्रति पनि उत्तिकै जिम्मेवार छौँ,’ उनले भने, “हाम्रो उद्देश्य मुनाफा मात्र होइन, सामाजिक उत्तरदायित्व वहन गर्दै सुरक्षित औषधि सेवा प्रदान गर्नु हो ।’’
सोही अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८३ को भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरिएको थियो भने सहभागीहरूबीच नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रममा औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रदीप दास, कोशी प्रदेश अध्यक्ष धनराज काफ्ले, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ अध्यक्ष सुशीला पाठकलगायतले औषधि क्षेत्रका समसामयिक चुनौती र व्यवसायीको भूमिकाबारे चर्चा गरेका थिए । तालिममा मोरङ जिल्लाभरिका औषधि व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।