अरनिको कलेजले गर्यो १,२०० विद्यार्थीलाई भव्य बिदार्ई
पूर्वाञ्चल खबर
५ बैशाख २०८३, शनिबार १५:४९
3
Shares
विराटनगर । विराटनगरस्थित अग्रणी शैक्षिक संस्था अरनिको कलेजले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई भव्य कार्यक्रमबीच बिदाई गरेको छ ।
आउँदो वैशाख १४ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सहभागी हुने विज्ञान संकायका करिब १ हजार २ सय विद्यार्थीलाई सफलताको शुभकामनासहित बिदाई गरिएको हो ।
कलेजका प्रिन्सिपल राजेश कार्कीका अनुसार यस वर्ष २२औँ ब्याचका विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाई गरिएको हो । उनले अरनिको कलेज विज्ञान शिक्षामा मुलुककै अब्बल संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै विद्यार्थीको उज्ज्वल भविष्यप्रति कलेज प्रतिबद्ध रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल कार्कीले कलेजमा आर्जन गरेको ज्ञान, सीप र अनुशासनलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न विद्यार्थीहरूलाई आग्रह गरे । ‘विद्यार्थीको निरन्तर मेहनत र कलेजको गुणस्तरीय शिक्षाले नै अरनिकोको राष्ट्रिय पहिचान निर्माण भएको हो,’ उनले भने ।
सो अवसरमा दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू प्रतिमा रौनियार, प्राञ्जल नेपाल र मञ्जिला ओझालाई सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा ११ की छात्रा सुम्निमा न्यौपाने तथा कक्षा १२ का विद्यार्थीहरू अर्पिता राजवंशी, अनिक मण्डल र मुस्कान गुप्ताले कलेज जीवनका अनुभव र सिकाइ सुनाएका थिए ।
कलेजका शिक्षक विमल भट्टराईले सञ्चालन गरेको भव्य कार्यक्रमको प्रिन्सिपल राजेश कार्की, सञ्चालक समितिका अध्यक्ष लक्ष्मी अधिकारी, सञ्चालक विकास खनालले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
कार्यक्रमका विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गीतलगायतका प्रतिभासमेत प्रस्तुत गरेका थिए ।