खबर पूर्वाञ्चल
आज विराटनगरमा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पहिचानवादीहरुको आवाज विज्ञप्तीमा मात्रै देखिएको र जनता तहमा नरहेको बताए । प्रदेश नामप्रति एमाले प्रतिबद्ध रहेको भन्दै उनले जनतामा गइसकेको एजेन्डा एमालेले नछाड्ने बताए । महासचिव पोखरेलले पहिचानको मुद्दा उठाउनेलाई व्यवस्थित रुपमा आफ्ना मुद्दालाई जनतामा लैजान आग्रह समेत गरे । पहिचान पक्षधरले एमालेलाई यात्राका क्रममा स्वागत गरेर आफ्ना एजेन्डा राख्नुको साटो विरोध गरेर जनतासँगको दुरी बढाएको उनको भनाइ छ ।
एमालेले चुनावमा जाँदा साँझा पहिचानको कुरा उठाएको स्मरण गराउँदै उनले एकल पहिचानको मुद्धा लिएर चुनावमा जानेहरु नै कोशी नामकरणको पक्षमा आएको बताए । पहिचानवादीहरुले एमालेसँग गुनासो गर्न आवश्यक नरहेको उनले बताए ।
कोशीमा पहिचानवादीको विरोध एमाले केन्द्रित भएपनि तल्लो तहका जनतामा विरोधको स्वर नसुनिएको उनले बताए । उनले हालै सम्पन्न सङ्कल्प यात्रा एमालेको भए पनि कार्यक्रम सर्वदलीय भएको बताए ।
धेरै जिल्लामा संयुक्त ज्ञापन पत्र दिएको साँझा र सामूहिक समस्या प्रकट भएको उल्लेख गर्दै उनले प्रदेशको र जिल्लाको समस्याका बारेमा माग राखेको र त्यो माग कुनै राजनीतिक दलको भन्दा पनि जनताले स्वतः स्फूर्त माग राखेको बताए । उनले मध्य पहाडमा धेरै विकास पुगेको भए पनि बसाइसराइको समस्या त्यो भन्दा बढी भएको बताए ।