पूर्वाञ्चल खबर
राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान साहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आजै उनले शपथ ग्रहण गर्नेछन् ।
नवनियुक्त प्रधानमन्त्री साहसँगै आज १४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
राष्ट्रपति पौडेलले आज विहान साहलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै रास्वपाले मन्त्रीहरूको प्रारम्भिक नाम टुङ्गो लगाएको हो।
रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता एवं प्रधानमन्त्री साहबीच भएको छलफलपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएको छ। स्रोतका अनुसार नयाँ सरकारमा अर्थमन्त्रीको जिम्मेवारी उपसभापति डा. स्वर्णिम वाग्लेले सम्हाल्नेछन्। त्यसैगरी, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ चयन भएका छन्।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइएको छ भने भौतिक पूर्वाधारमा सुनील लम्साल र शिक्षामा सस्मित पोखरेल मन्त्री बन्ने सूचीमा छन्।
पर्यटन मन्त्रालय गणेश पौडेल, सामान्य प्रशासनमा प्रतिभा रावल, उद्योग तथा वाणिज्यमा अमरेश सिंह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी विक्रम तिमल्सिनाले पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामा निशा मेहता, कृषिमा गीता चौधरी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सीता बादीको नाम टुङ्गो लागेको छ।
रास्वपा स्रोतका अनुसार अन्तिम चरणमा केही सामान्य हेरफेर हुन सक्ने सम्भावना रहे पनि हाललाई यिनै नामहरू फाइनल गरिएको हो। यस्तै, उपसभापति डिपी अर्याललाई भने सभामुखको जिम्मेवारी दिने तयारी गरिएको छ। नवनियुक्त प्रधानमन्त्री शाह र मन्त्रीहरूले आज मध्याह्न १२ बजेर ३४ बजे शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्ने कार्यक्रम छ।