पूर्वाञ्चल खबर

सोमबार सम्पन्न उक्त सहमतिअनुसार संघमा आबद्ध पत्रकारहरूले अब गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा पाउने भएका छन् । पत्रकार समुदायका लागि स्वास्थ्य सुरक्षालाई संस्थागत गर्ने उद्देश्यले गरिएको यो सहकार्यलाई पत्रकार वृत्तमा उदाहरणीय पहलका रूपमा हेरिएको छ ।
सम्झौताअनुसार सदस्य पत्रकारहरूले प्रयोगशाला (ल्याब) सेवा र ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क पाउनेछन् । उनीहरूका परिवारका सदस्यलाई भने सोही सेवामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शल्यक्रिया (अपरेशन) सेवामा पत्रकार सदस्यलाई ५० प्रतिशत र परिवारका सदस्यलाई ३० प्रतिशतसम्म सहुलियत दिइनेछ ।
त्यसैगरी, अस्पतालमा भर्ना हुँदा बेड शुल्क पत्रकारका लागि निःशुल्क रहनेछ भने परिवारका सदस्यलाई ३० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ । आपतकालीन अवस्थामा पत्रकारलाई प्राथमिकताका आधारमा तत्काल उपचार सेवा प्रदान गरिने अस्पताल व्यवस्थापनले जनाएको छ ।
अस्पतालका तर्फबाट अध्यक्ष डा. सफिउर रहमान र संघका तर्फबाट नवनिर्वाचित अध्यक्ष साहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा अस्पतालका सिईओ हेमनारायण मेहताले सम्झौताअनुसार सेवा कार्यान्वयनमा पूर्ण प्रतिबद्धता व्यक्त गरे । साथै, वर्षमा कम्तीमा एकदेखि दुईपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमतिसमेत भएको छ ।
सम्झौताअनुसार संघले आफ्ना सदस्यहरूको अभिलेख व्यवस्थापन, परिचयपत्र वितरण तथा सेवा दुरुपयोग नियन्त्रणमा समन्वय गर्नेछ भने अस्पतालले सहुलियतसहित सेवा उपलब्ध गराउने दायित्व लिएको छ ।
तीन वर्षका लागि लागू हुने उक्त सम्झौताले पत्रकारहरुका लागि निकै लाभदायी भएको अध्यक्ष साहले बताए । नयाँ नेतृत्व सम्हालेसँगै अध्यक्ष साहले अघि सारेको यो पहलले पत्रकारहरूको सामाजिक सुरक्षामा मात्र होइन, संस्थागत विश्वसनीयता र पेशागत संरक्षणमा समेत सकारात्मक सन्देश दिएको छ ।