AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको अभाव हुन सक्ने हल्लाले विराटनगरमा ग्यासको ‘कृत्रिम अभाव’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०८२, बिहीबार १८:०५
90
Shares
विराटनगर/इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको अभाव हुन सक्ने हल्लाले विराटनगरमा पनि प्रभाव पारेको छ ।

छिमेकी देश भारत, बंगलादेश र पाकिस्तानमा ग्यासको संकट देखिन थालेको समाचार सार्वजनिक भएपछि यहाँका उपभोक्तामा त्रास सिर्जना भएको हो ।

भारतबाट समयमा ग्यास ढुवानी नहुँदा बजारमा केही चाप देखिएको व्यवसायीहरूको दाबी छ । विराटनगर–११ पिछरास्थित कोशी ग्यासको बिक्री केन्द्रमा आज दिउँसो साढे १२ बजे ग्यासको गाडी आइपुग्दा उपभोक्ताको भीड थामिनसक्नु थियो । भीड नियन्त्रण गर्न सप्लायर्सका सञ्चालक वीरेन्द्र कार्कीले टोकन प्रणाली नै लागू गर्नुपर्‍यो । ‘भीडभाड धेरै हुने भएपछि सहजताका लागि १५० वटा टोकन वितरण गरेका थियौँ,’ कार्कीले भने, ‘माग धेरै छ, आपूर्ति कम । दुई दिनअघि आएको ३०० सिलिन्डर एकैछिनमा सकियो । आज आएको १५० सिलिन्डर पनि एक घण्टामै रित्तियो ।’

विराटनगर–१२ कामत चोककी ६५ वर्षीया कमली सहनीले घण्टौँ लाइनमा बसेर मात्रै ग्यास पाएको बताइन् । ‘ग्यासको गाडी दिउँसो आउँछ भनेका छन्, त्यसैले दुई घण्टादेखि सटर कुरेर बसेकी छु,’ उनले भनिन्, ‘अरु बेला यस्तो हुन्थेन, अहिले के भएर अभाव भएको हो ? घरमा नातिनातिनी भोकै होलान् भन्ने चिन्ता छ ।’

नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीले कोशी प्रदेशमा ग्यासको अभाव नभएको दाबी गरे । उनले यसलाई ‘कृत्रिम अभाव’को संज्ञा दिए । ‘उद्योगबाट पर्याप्त ग्यास बजारमा गइरहेको छ,’ उनले भने, ‘डिलरहरूबाट केही बदमासी भएको हुन सक्छ, हामी यसबारे अनुसन्धान गर्दैछौँ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पनि बजारमा ग्यास लुकाइएको हुन सक्ने आशंका गरेका छन् । ‘आयल निगमले ग्यास पर्याप्त छ भनेको छ, तर बजारमा उपभोक्ताले सास्ती पाइरहेका छन्,’ उनले भने, ‘हामी तत्काल बैठक बसेर अनुगमनमा निस्कन्छौँ । यदि कसैले कृत्रिम अभाव सिर्जना गरेको वा ग्यास लुकाएको पाइए तत्काल कारबाहीको दायरामा ल्याउँछौँ ।’

कोशी ग्यास प्रालिका जेनेरल मेनेजर सचित उपाध्यायले कोशी ग्यासको दैनिक ८ हजार २७९ सिलिन्डर बजारमा गइरहेको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय बजारमा संकट आउने हल्लाका कारण उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सञ्चित (स्टक) गरेकाले डिलरमा पुग्नेबित्तिकै ग्यास सकिने गरेको छ,’ उनले भने, ‘उपभोक्ताले आवश्यकताअनुसार मात्र प्रयोग गरे अभाव हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर