AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा दुर्घटनामा परेर प्रहरी नायव निरीक्षक बोहोराको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०८२, बुधबार ११:०८
486
Shares
विराटनगर / विराटनगरमा आज बिहान दुर्घटनामा परेर नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ ।

हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बिहान ७ः३५ बजेतिर दुर्घटना भएको थियो ।

भित्री सडक खण्ड भएर राजवंशी चोकबाट नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त मोटरसाइकल सई बोहोरा आफैंले चलाएका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान ९ बजेतिर मृत्यु भएको डीएसपी लामिछानेले बताए । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन् । मध्यम अवस्थाका उनको नोबेलमै उपचार भइरहेको छ । घाइते बस्नेत मृतक बोहोराको आफन्त हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर