खबर पूर्वाञ्चल


शारीरिक रूपमा मतदातामाझ पुग्न असमर्थ ढकालले कोराभित्रबाटै एक भिडियो सन्देश जारी गर्दै भनेका थिए,’म शारीरिक रूपमा तपाईंहरूको माझमा आउन नसके पनि मेरो मन तपाईंहरूसँगै छ।’
निर्वाचन प्रचार प्रसारककै क्रममा सुन्दरहरैचामा घरदैलो गरिरहेको अवस्थामा ढकालका बुवाको निधन भएको थियो । उम्मेदवार ढकालमा कोरामा बसेपछि उनका दुई छोरीहरु चुनावी अभियानमा निस्किएका छन् । मोरङ ६ का चुनावी कमाण्डर तथा सो क्षेत्रका पूर्व सांसद लालबाबु पण्डित, महानगर कमिटीका अध्यक्ष बलराम गिरी लगायतका नेताहरुसँगै छोरीहरु ३० बुँदे प्रतिबद्धता पत्र, मतदाताका लागि उम्मेदवार ढकालको पत्र सहित उनीहरु चुनाव प्रचारमा हिँडेका हुन ।
‘जेन्जी’ दुई छोरीहरूले भावनात्मक संवेदनशीलता र आधुनिक सोचलाई एकसाथ जोडेर अभियान अघि बढाइरहेका छन । इटालीबाट भर्खर सस्टेनेवल नेचुरल रिसोर्स मेनेन्जमेन्टबाट मास्टर गर्दै गरेकी जेन्जी उमेरकी जेठी छोरी सुरभी, बिएलएलबि अध्ययन सकेर बसेकी कान्छी छोरी सौरभीले क्षेत्रीय निर्वाचन परिचालन कमिटीको चुनावी अभियानमा उम्मेदवार ढकालले आईतबार सार्वजनिक गरेका प्रतिबद्धता पत्र लिएर मतदाताकहाँ पुगेका छन् । घरदैलोमा पुगेर उनीहरू भन्छन्, “हाम्रो बुबा अहिले तपाईहरूको आँगनमा आउन सक्नुभएन, उहाँको तर्फबाट हामी आएका छौ । उहाँको सपना पूरा गर्न साथ दिनुहोला ।”
राजनीतिक आलोचना गर्न तयार भएर बसेका विपक्षी मतदाताको मन पनि यो दृश्यले पग्लिने गरेको छ । विराटनगर ५ की एक वृद्धाले आँसु पुछ्दै भनिन् “बिचरा बाउको किरिया बारिरहेको घर, छोरीहरू यसरी भोट माग्न हिडेका छन्, धर्म पनि नछोड्नु, कर्म पनि नछोड्नु भनेको यही हो ।’
मतदाताहरूले यसलाई केवल राजनीतिक प्रचारका रूपमा मात्र लिएका छैनन । उनीहरूले यसमा ’छोरी’ को अदम्य साहस र पारिवारिक संस्कार देखेका छन । धेरैको बुझाइ छ– “जसको छोरीहरू यति जिम्मेवार छन्, त्यो बाबुले समाजका लागि पनि पक्कै केही राम्रै सोचेका होलान ।“
विनोद ढकाल कोरामा बस्दा उनका शब्दहरू मौन होलान, तर उनका छोरीहरूको पाइलाले त्यो मौनतालाई शक्तिशाली आवाजमा परिणत गरिदिएको छ ।
पितृशोकको यो घडीमा छोरीहरूले देखाएको यो परिपक्वताले राजनीति केवल भाषण र घोषणापत्र मात्र होइन, यो संवेदना, सम्बन्ध र संस्कारको शिक्षा पनि भएको मतदाताको प्रतिकृया छ । बुबाको राजनीतिक परीक्षामा छोरीहरू ‘सारथी’ बनेको यो दृश्यले मतदाताको मन छोएको छ ।
मतदाताहरूका लागि यो दृश्य भावुक बनिरहेको छ । एक स्थानीय मतदाता भन्छन्, “हिजोसम्म विनोद दाइ आफैं आउनुहुन्थ्यो, अहिले उनी शोकमा रहेकाले उनका छोरीहरू बुबाको लागि भोट माग्दै हिड्दा मन छोएको छ । यो केवल राजनीति होइन, परिवारको संस्कार र जिम्मेवारी पनि हो ।”