AArya
RUMPUM
animated ellipse animated ellipse

सभापति लालदास कर्ण स्मृति ग्रन्थ विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० माघ २०८२, शनिबार १७:५१
36
Shares
विराटनगर / मोरङको ग्रामथान गाउँपालिका वडा नं २ स्थित सरस्वती माध्यमिक विद्यालय स्थापना गराउन महत्वपूर्ण योगदान गर्ने पूर्व शिक्षक सभापति लालदास कर्ण स्मृति ग्रन्थ प्रकासन भएको छ ।

परिवारको सहयोगमा विद्यालयले स्मृति ग्रन्थ प्रकासन गरेको हो । यसमा पञ्चयातकालीन समयमा समेत सभापति लालदासको पहलमा गाउँका दूरदराजमा बस्ने सर्वसाधारणलाई शिक्षा दिलाउन गरेको संघर्ष र प्रयासको कथा यसमा समेटिएको छ ।

ग्रन्थको प्रमुख सम्पादक विद्यालयका पूर्वशिक्षक  गायत्रीकुमार चापागाईंले गरेका हुन । यसैगरी सम्पादन छोरा विवेक कर्ण र बुहारी शान्ता कर्णले गरेका छन् । झोराहाटमा आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभामा मोरङ क्षेत्र नं ४ का उमेदवार  गुरुराज घिमिरे, सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उमेदवार अमनलाल मोदी, संविधान सभा सदस्य तथा विरानगरका उद्योगी पवन कुमार शारडा, वरिष्ठ उद्योगी तथा समाजसेवी महेश जाजू, कोसी प्रदेश सभाका सदस्य गणेश उप्रेती र प्राध्यापक अमृत आचार्यले संयुक्त रुपमा पुस्तक विमोचन गरे । यसमाथि टिप्पणी गर्दै प्रमुख सम्पादक आचार्यले पञ्चायतकालीन समयमा समेत शिक्षाको उज्यालो छर्ने काम चुनौतीपूर्ण भएपनि सभापति लालदासले निकै संघर्ष गरेर पहिले प्राथमिक र त्यसपछि माध्यमिक विद्यालय बनाउन भूमिका खेलेको चर्चा गरे ।

सभापति लालदासलाई तत्कालीन समयमा इन्द्र शम्सेर राणाले भारतको दरभंगाबाट झोराहाट ल्याएका थिए । झोराहाटका केशव निरौलाको परिवारले उनलाई बस्ने प्रबन्ध गरिदिएको थियो । सोही परिवारकी सरस्वता निरौलाको नाममा रहेको १० कठ्ठा जग्गा विद्यालयलाई दान दिई छाप्रोबाट विद्यार्थी पढाउन शुरु गरिएको थियो । सभापति गणित विषयका विज्ञ थिए । उनले धेरै विद्यार्थीलाई आफ्नो जीवनकालमा निःशुल्क ट्युसन शिक्षा समेत दिएका थिए । उनलाई विद्यालयमै बस्ने व्यवस्था मिलाइएको थियो । आचार्यले भने,‘‘पहिले सभापतिले आफै विद्यार्थी खोजेर ल्याउनु भयो, पढ्ने बानी लगाउनु भयो । अनि विस्तारै यो क्रम बढ्दै गयो ।’’ अहिले सरस्वती स्कुलमा पढेका धेरै विद्यार्थी विश्वका विभिन्न ठाउँमा पुगिसकेको आचार्यले सुनाए ।

कार्यक्रममा कांग्रेस महामन्त्री घिमिरेले पञ्चायतकालीन समयमा आम मानिसलाई शिक्षा दिलाउने सोच नै ठूलो संघर्षको विषय भएको बताए । नेकपाका नेता मोदीले ग्रामीण भेगमा अशिक्षाको अन्धकार हटाउन सभापति लालदासले गरेको योगदान पुस्तौं पुस्तासम्म सम्झाना भइरहने बताए । उद्योगीद्वय शारडा र जाजूले सामाजिक कार्यले नै मानिसलाई सदैव जीवन्त राख्ने बताए ।

लालदासका छोरा विवेक कर्णले समाजमा योगदान दिएपनि नयाँ पुस्तालाई त्यसबारे थाहा नभएकोले ठूलो अनुसन्धान र आफ्ना बुवासँगै काम गरेका तथा विद्यार्थीहरुसँग गएर एउटा ऐतिहासिक दस्तावेज तयार भएको बताए ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद गुरागाईंले विद्यालयलाई योगदान दिने व्यक्तित्वको इतिहास जीवन्त राख्न पाउनु सकारात्मक कार्य भएको सुनाए । कवि भरत गुरागाईंले शिक्षाको प्रकाश छर्ने लालदास झोराहाटबासीका लागि उदाहरणीय व्यक्तित्व भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर