उपमेयर कार्कीको नेतृत्वमा बजार अनुगमन

खबर पूर्वाञ्चल, २१ भाद्र २०७९, मंगलवार १९:१०
909
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

आज महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । उपमेयर कार्की नेतृत्वको टोलीले विराटनगर–११ स्थित नयाँ गद्रीका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु बरामदसमेत गरिएको थियो ।

ओम विष्णु किराना पसलबाट उपभोग्य मिति सकिएका चिल्ली सक्स, तोरीको पाउडर, चाउचाउ, चाउचाउको मसला, मस्यौरा, मरिज पाउडर, हर्लिक्सलगायतका सामान नष्ट गरिएको थियो । त्यसैगरी २१ बोतल तिलको तेल, १ बोतल माछाको सक्ससमेत बरामद गरिएको उपमेयर कार्कीले जानकारी दिइन् । त्यस्तै गुद्रीमै रहेको आरवी ट्रेडर्समा शंकास्पद ढक र तराजु पनि अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । सम्बन्धित निकायमा पठाएर अध्ययन गर्ने महानगरका आर्थिक महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिए । डिजिटल काँटामा ढकलाई राखेर हेर्दा तौलमा कमी देखिएपछि नियन्त्रणमा लिएको उनले बताए । चाडवाड नजिकिएसँगै बजारमा व्यापारीले मनपरी सामानको मूल्य लिने, कम तौलका सामान बिक्री गर्ने, उपभोग्य मिति सकिएका सामान बिक्री गर्ने लगायतका गुनासो आउने गरेको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखेर अनुगमनलाई तीव्र पारिएको उपमेयर कार्कीले बताइन् । “बजार अनुगमनलाई अब तीव्र पार्छौं,” उनले भनिन्, “गल्ती गर्ने जोसुकै भए पनि कानुनअनुसार कारबाही गर्छौं ।” अनुगमनका क्रममा केही पसलले दर्तासमेत नगरेको पाइएको थियो । यसरी दर्ता नगर्ने पसललाई उपमेयर कार्कीले एकहप्ताभित्र महानगरमा दर्ता गर्न दिर्नेशनसमेत दिएकी थिइन् । अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तारानाथ भट्टराई, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि वीरेन्द्रकुमार दास, महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, निरीक्षण अधिकृत हरिप्रसाद गुरागाईं, नगर प्रहरी निरीक्षक राजन पौडेल, खाद्य प्राविधिक धीरज राईलगायत सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५