खबर पूर्वाञ्चल
विद्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी माघ ९ गते हुने प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।
विगत २३ वर्षदेखि विद्यार्थीहरूमा अनुशासन, करुणा, कला, संस्कार र नैतिकताको विकास गर्ने उद्देश्यले विद्यालयले यो कार्यक्रम आयोजना गर्दै आएको छ ।
समाजमा संकटमा पर्दै गएको मौलिक वाद्यवादन र भजन–कीर्तनको संरक्षण एवं प्रवर्द्धन गर्ने लक्ष्यसहित यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।
प्रिन्सिपल बुढाथोकीका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार, द्धितीयले २० हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सान्त्वना पुरस्कार ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । पुरस्कारको कुल राशि २ लाख २४ हजार ५ सय रुपैयाँ रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रिन्सिपल बुढाथोकीले भने, “मेरो लक्ष्य भजन–कीर्तनको प्रथम पुरस्कार राशि १ लाख रुपैयाँ पुर्याउने छ, जुन आगामी दिनमा बिस्तारै पुरा गर्नेछु ।”
विद्यालय स्थापना कालदेखि नै सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई २०७९ सालदेखि प्रतियोगितात्मक स्वरूप दिइएको हो । गत वर्ष मोरङ र सुनसरीका ३९ टोली सहभागी भएकोमा यस वर्ष सहभागी संख्या बढ्ने अनुमान गरिएको छ ।
आयोजकका अनुसार हालसम्म ५० टोली सहभागी हुने अपेक्षा गरिएको छ भने दर्ताका लागि भोलि माघ ६ गतेसम्मको म्याद थप गरिएको छ ।
प्रतियोगितालाई अझ व्यवस्थित बनाउन सोमबार नै सहभागी टोलीहरूका लागि प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो । माघ ९ गते वसन्त पञ्चमीका दिन दिउँसो २ बजेदेखि प्रतियोगिता सुरु हुनेछ भने बिहान ७ः३० बजेदेखि सरस्वती पूजनोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।
यसैबीच, कार्यक्रमको दिगोपना र स्थायित्वका लागि विद्यालयले यसै आर्थिक वर्षभित्र ५० हजार रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको छ । उक्त कोषलाई आगामी दिनमा थप वृद्धि गर्दै लैजाने समेत जानकारी दिइएको छ ।