खबर पूर्वाञ्चल
नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ जिल्ला शाखाले स्वास्थ्य क्षेत्रका विकृति र विसंगतिविरुद्ध कलम चलाउँदै सुधारमा योगदान पुर्याएको भन्दै श्रेष्ठलाई सम्मान गरेको हो ।
संघको कोशी अञ्चल शाखाका संस्थापक अध्यक्ष स्व. लक्ष्मीनाथ उप्रेतीको स्मृतिमा स्थापित उक्त सम्मानको राशि १० हजार १ सय रुपैयाँ रहेको छ । आज विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रममा आयोजित एक कार्यक्रमका बीच पत्रकार श्रेष्ठलाई दोसल्ला, सम्मान–पत्र र नगद राशिसहित पुरस्कृत गरियो ।
उनलाई संघका केन्द्रीय सदस्य प्रदीपकुमार दास, कोशी प्रदेश अध्यक्ष धनराज काफ्ले, मोरङ जिल्ला अध्यक्ष देशबन्धु ढकाल र पूर्वाञ्चल बाल सेवा आश्रमकी संस्थापक सीता पोखरेलले संयुक्त रूपमा सम्मान गरे ।
सोही अवसरमा आश्रममा आश्रितहरूका लागि निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रमसमेत आयोजना गरियो । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आश्रमका ज्येष्ठ नागरिक र बालबालिकाहरूको आँखा परीक्षण गरिएको थियो ।
कार्यक्रममा बोल्दै संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले स्वास्थ्य शिविरमा परीक्षण गराएका बिरामीलाई आवश्यक पर्ने औषधि निःशुल्क वितरण गरिएको जानकारी दिए । अध्यक्ष ढकालले औषधि व्यवसायीहरू पेसागत हकहितसँगै सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै सक्रिय रहेको बताए ।
संघका महासचिव अरुण ब्राम्हण ठाकुरले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा व्यवसायी शेखरनाथ उप्रेती लगायतले स्वास्थ्य क्षेत्रको सम्बन्धबारे चर्चा गरेका थिए ।