पूर्वाञ्चल खबर
जहदा गाउँपालिका–३ बाट लागुऔषध गाँजा सिरहाको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा सुखीपुर–१० दहीपौडीको एम्बुलेन्सबाट प्रहरीले बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्स चालकसहित २ जनालाई प्रहरीले पक्राउ जनाएको छ ।
बुधबार राति जहदा–३ मा स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई शंका लागी चेक गर्दा एम्बुलेन्सभित्र कालो रंगको झोलामा लुकाई छिपाइ राखेको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
बरामद गरेको गाँजासहित एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
एम्बुलेन्ससँगै रहेको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलीपकुमार राजवंशी समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
मोरङमा चल्ने अधिकांश एम्बुलेन्स सम्बन्धित संस्थाले आफैँले नचलाई ठेक्का दिइने गरिएको छ । यहाँ सञ्चालनमा रहेका एम्बुलेन्स कर सुविधा ल्याउने र एक जनालाई वार्षिक रूपमा ठेक्का दिइने गरेको छ ।
बिरामी ओसारपसारका लागि कर सुविधा (कर छुट)मा ल्याएका एम्बुलेन्सले निजी सवारी (कर छुटमा नल्याएका) सवारीसाधनले लिने गरेको भाडा दर लिने गरेका छन् । यसअघि पनि लागुऔषधसहित धेरै एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
त्यस्तै, विराटनगर महानगरपालिका–५ बाट सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का विकासकुमार यादव र भारत विहार पूर्णियाका कृष्णकुमार मेहतालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बीआर ५० एडी ०२२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शंका लागी चेक गर्दा ५३ ग्राम १७ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पथरीशनिश्चरे नगरपालिका–९ का २३ वर्षीय कबिन कार्कीलाई लागुऔषध ब्राउनसुगर ९३० मिलिग्रामसहित पक्राउ गरेको छ । कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।