खबर पूर्वाञ्चल
मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणामस्वरूप वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ हो र यसको रक्षा गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
यस अवसरमा यस अवसरमा मुख्यमन्त्री कार्कीले सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति समेत हार्दिक श्रद्धाञ्जली प्रकट गरे ।
कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण लागिपरेको चर्चा गर्दै उहाँले सामाजिक–आर्थिक विकासलाई तीव्रता दिँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको बताए ।
संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न उहाँले आह्वान गरे ।
मुख्यमन्त्री कार्कीले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
संविधान दिवसले सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्न प्रेरणा दिने उनले विश्वास व्यक्त गरे । प्रदेश सरकारले आज विविध कार्यक्रम गरी संविधान दिवस मनाएको छ।