खबर पूर्वाञ्चल
कात्तिक १५ देखि १७ गतेसम्म परेको बेमौसमी वर्षा र त्यससँगै आएको हावाहुरीले उपेन्द्रको मात्र होइन, कोशी प्रदेशका हजारौँ किसानको सपना र वर्षभरिको मिहिनेतलाई सोतर बनाएको छ । “भित्र्याउन ठिक्क पारेको धान पानीमा डुबेर खेतमै उम्रिने अवस्थामा छ” उपेन्द्रले भने, “यही उब्जनीले ५ जनाको परिवार पाल्नुपर्छ । अब वर्षभरि के खाने रु छोराछोरीलाई कसरी पढाउने रु” उपेन्द्रका छिमेकी आफन्त टङ्कबहादुर भण्डारीको व्यथा पनि फरक छैन । उनले अर्काको एक बिघा जमिन अधियाँमा लिएर खेती गरेका थिए । यही उब्जनीबाट आफ्नो परिवार पाल्ने उनको योजना थियो । तर वर्षाले उनको सपनामाथि पनि पानी खन्याइदियो । “जुन दिन धान काटेर भिœयाउने तयारी गरेको थिएँ, त्यही दिनदेखि पानी पर्न थाल्यो” उनले दुःख पोखे, “एक बिघामध्ये ६ कठ्ठाको धान त कामै नलाग्ने गरी सड्यो । ३ कठ्ठामा अझै पानी जमेको छ । लगानी र मिहिनेत सबै बालुवामा पानी भयो ।”
उपेन्द्र र टङ्कबहादुर प्रतिनिधि पात्र मात्र हुन् । कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कले क्षतिको तस्बिर भयावह देखाउँछ । निर्देशनालयका अनुसार यो छोटो अवधिको वर्षाले प्रदेशमा धान तथा तरकारी बालीमा दुई अर्ब पाँच करोड ५४ लाख ३६ हजार सात सय ९० रुपैयाँ बराबरको क्षति पु¥याएको छ । निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङका अनुसार प्रदेशभरि कुल १२ हजार छ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ । यसबाट ५८ हजार २ सय ६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएको छ ।
बेमौसमी वर्षाको सबैभन्दा ठूलो मार तराईका अन्नभण्डार मानिने जिल्लाहरूमा परेको छ । झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी क्षति भएको निर्देशनालयको तथ्याङ्क छ । झापामा चार हजार ३ सय ६४ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।