पूर्वाञ्चल खबर
विराटनगर /कृष्ण बस्नेत ‘पर्शुराम’को कार्यकाल सकिएसँगै रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पदका लागि राजनीतिक वृत्त र खेलकुद क्षेत्रमा सरगर्मी बढेको छ ।
प्रदेशको खेलकुद क्षेत्रलाई नेतृत्व प्रदान गर्ने यो पदमा कसलाई ल्याइन्छ भन्ने विषय आम चासो बढेको हो ।कोशी प्रदेशमा हाल नेकपा (एमाले) र नेपाली काँग्रेसको संयुक्त सरकार छ । यही राजनीतिक समीकरणले सदस्य सचिव नियुक्तिमा तीव्र दाउपेच सिर्जना गरेको छ । एकातिर प्रदेश सरकारको नेतृत्व र खेलकुद क्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालय एमालेको जिम्मामा रहेकाले उसले यो पद आफूले पाउनुपर्ने स्वाभाविक दाबी गरेको छ ।
अर्कोतर्फ, काँग्रेसले अघिल्लो कार्यकालमा एमालेबाट सदस्य सचिव भइसकेकाले यसपटक पालो आफ्नो हुनुपर्ने बलियो अडान राखेको छ । यो राजनीतिक रस्साकस्सीका बीच खेलकुद क्षेत्र भने राजनीतिक भागबन्डाभन्दा माथि उठेर खेलकुद बुझेको, योग्य र सक्षम व्यक्ति नियुक्त हुनुपर्ने अपेक्षामा छ । सदस्य सचिव पदका लागि सत्तारुढ दलहरूबाट सम्भावित उम्मेदवारहरूको नाम चर्चामा आउन थालेको छ । नेकपा (एमाले) भित्रबाट तीन जनाको नाम प्रमुख रूपमा अगाडि आएको छ ।
सबैभन्दा अग्रपंक्तिमा सुनसरीको इनरुवा निवासी विप्लव घोषको नाम छ । करातेका पूर्वखेलाडी घोष एमाले निकट नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज हुन् । खेलकुद महासंघमा उनको सक्रिय भूमिका र राजनीतिक पहुँचका कारण उनलाई बलियो दाबेदार मानिएको छ । लामो समयदेखि क्रिकेट क्षेत्रको विकासमा समर्पित घोषले खेलकुदको व्यवस्थापकीय पक्षमा अनुभव बटुलेका छन् ।
त्यसैगरी, एमालेबाटै मोरङका मुकेश बुढाथोकी र रविन थापाको नाम पनि चर्चामा छ । बुढाथोकी करातेका पूर्वखेलाडी हुन् भने थापा खेलकुद एकेडेमी सञ्चालन गरेर खेल क्षेत्रमै क्रियाशील छन् । थापा केही समयअघि एमाले मोरङको सचिव पदमा सोमराज थापासँग पराजित भएका थिए । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन उनीहरूमध्ये एकलाई अघि सार्न सकिने अनुमान पनि गरिएको छ ।
यता नेपाली काँग्रेसबाट धरान निवासी पूर्व फुटबल खेलाडी किशोर राईको नाम चर्चामा छ । खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय राई आफ्नो स्पष्ट वक्ता र जुझारु छविका लागि परिचित छन् । काँग्रेसले यसपटक कुनै पनि हालतमा सदस्य सचिव पद नछाड्ने रणनीति बनाएकाले राईलाई सशक्त रूपमा अघि सारेको छ ।
राजनीतिक दाउपेच चलिरहँदा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले भने रिक्त रहेको बोर्डले चाँडै पूर्णता पाउने बताएका छन् । उनले भने, “मन्त्रालयले केही दिनभित्रै खेलकुद क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई नै सदस्य सचिवसहित बोर्डका पदाधिकारी र सदस्यहरू नियुक्त गर्नेछ । बोर्डको ऐन र नियमावलीअनुसार नै नियुक्ति प्रक्रिया अगाडि बढ्छ ।”
नियमावलीअनुसार सदस्य सचिव बन्न ३५ वर्ष उमेर पूरा भई ६० वर्ष ननाघेको र खेलकुदको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान छ । यसअघि शैक्षिक योग्यताको स्पष्ट मापदण्ड नभए पनि अब ऐन र नियमअनुसार नै अघि बढ्ने मन्त्री राईको भनाइले शैक्षिक योग्यतालाई पनि ध्यान दिइने बताइएको छ ।