AArya
RUMPUM
animated ellipse animated ellipse

पटके अभियुक्त र ७ फौजदारी मुद्दाका आरोपी पूर्व वाईसीएल श्रेष्ठलाई एमाले भोलेन्टियर फोर्सका कमाण्डर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ मंसिर २०८२, शनिबार ११:४६
54
Shares
काठमाण्डौ/ नेकपा (एमाले) ले शुक्रबार भव्य समारोहसाथ घोषणा गरेको नेसनल भोलेन्टियर फोर्सका केन्द्रीय कमाण्डर प्रमुख पुष्पराज श्रेष्ठ फौजदारी मुद्दाका पटके अभियुक्त भएको खुलेको छ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टमु (सीआरएस) अनुसार उनीविरुद्ध २०६३ देखि २०७५ सम्म ७ वटा गम्भीर मुद्दा दर्ता भएका छन्।

सिन्धुलीका ४३ वर्षीय श्रेष्ठमाथि ज्यान मार्ने उद्योग, अपहरण, शरीर बन्धक, बन्धक बनाएर लुटपाट र सार्वजनिक अपराधसहितका मुद्दा छन्। अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष उपस्थितिमा नेता भानुभक्त ढकालले ११ सदस्यीय संरचना घोषणा गर्दा श्रेष्ठलाई संयोजक (कमाण्डर) को भूमिकामा अगाडि सारेका थिए।

पछिल्लो पटक भदौ २०७५ मा श्रेष्ठ अपहरण तथा शरीर बन्धकमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। ओखलढुंगाको सिद्धिचरण–४ घर भई काठमाडौंको धुम्बाराही बस्दै आएका रामबहादुर कटुवालले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातोपुलबाट पक्राउ गरेको थियो। त्यतिबेला अनुसन्धान कार्यालयका प्रमुख धीरजप्रताप सिंह हालका अवकाशप्राप्त पूर्वआईजीपी थिए।

कटुवालले घर निर्माणको लागि श्रेष्ठलाई ठेक्का दिएका थिए। तर निर्माणपछि बिल माग्दा उल्टै धम्की र कुटपिटको सामना गर्नुपरेको थियो।

यसअघि ४ पुस २०७३ मा श्रेष्ठमाथि गणेशकुमार कुँवरलाई बन्धक बनाएर रकम लुटपाट गरेको गम्भीर अभियोगमा अनुसन्धान भएको थियो। कुँवरलाई साथीहरूकै डेरामा लगेर कुटपिट गर्दै जबर्जस्ती ११ लाख रुपैयाँ बराबरको चेकसमेत काट्न लगाएको पाइएको थियो। यसमा श्रेष्ठसहित ५ जना पक्राउ परेका थिए।

माओवादीदेखि एमालेसम्मको यात्रा
घटनाका बेला श्रेष्ठ माओवादीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को सिन्धुली जिल्ला अध्यक्ष थिए। माओवादी र एमाले मिलेर नेकपा बनेयता उनी एमालेमै रहे। पार्टी विभाजनपछि पनि उनी एमालेमा नै थिए। तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको निकट मानिने श्रेष्ठ ठेक्कापट्टा र असुलीमा संलग्न रहेको आरोपमा पटक–पटक चर्चित बने ।

प्रहरीका अनुसार २०६३, २०६४ र २०६५ मा उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो। २०६३ मा सिन्धुलीका गगन सिंहमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट, २०६४ मा विजय मुनालमाथि हतियार प्रहार र २०६५ असोजमा काठमाडौं–३२ का अविनाश रिजालमाथि गोली प्रहार गरी हत्या प्रयास गरेको आरोप थियो।

२०६७ मा उनीविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गतको कसुरमा मुद्दा चलेको थियो। त्यसबेला उनीमाथि सिन्धुलीका राजन घिसिङलाई कुटपिट गरेको आरोप थियो। २०७० फागुनमा अपहरण तथा शरीर बन्धकको कसुरमा उनी पुनः पक्राउ परेका थिए। सिन्धुलीकै जीवन श्रेष्ठलाई अपहरण र कुटपिट गरेको आरोप थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर