खबर पूर्वाञ्चल
विराटनगर /कोशी प्रदेशमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ४९ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । मृतक मध्ये १३ जना पुरुष र १४ जना महिला र ३ जना बालक र ७ जना बालिका छन् । इलाममा १ जना पुरुष बेपत्ता छन् ।शनिबार भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । बाढीमा परी उदयपुरमा २ जना र खोटाङमा २ जनाको मृत्यु भएको छ।
पाँचथरमा २ जना, मोरङमा १ जना, उदयपुरमा २ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ ।
इलाममा १ जना, पाँचथरमा ३ जना, भोजपुरमा २ जना र खोटाङमा २ जना घाइते भएका छन् । झापामा ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् । मोरङमा ३८६ घरपरिवार, सुनसरीमा ४५ घर, धनकुटामा ६ घर, उदयपुरमा ३ घर र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा ६ हजार बढी परिवार विस्थापित भएका छन् ।