खबर पूर्वाञ्चल
नेकपा एमाले विराटनगर महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २४ गतेको आन्दोलन जेनजेडको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन भएको टिप्पणी गरे ।
मुख्यमन्त्री कार्कीले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गरे। जेनजेडको भ्रष्टाचारविरुद्ध मागलाई एमाले पनि निरन्तर उठाईरहेको उनले बताए । “पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ,” उनले भने ।
मुख्यमन्त्री कार्कीले एमाले सरकारमा रहदा विकासका काम भएको बताए । उनले प्राकृतिक सम्पदामाथि आक्रमण भइरहेको भन्दै उनले स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्ने बताए।
संविधान मास्ने प्रयासले देशलाई अस्थिर बनाउने खतरा बढेको बताउँदै उहाँले यसलाई जोगाउन लाग्नुपर्ने समेत उनले बताए ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरिको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गिरिले युवापुस्ताको मागलाई सम्बोधन गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै नेतृत्वले समय सापेक्ष सच्चिनुपर्ने आवश्यकता औल्याए। उनले पार्टीभित्रको संगठनात्मक कमजोरी सच्याएर समानताको आधारमा निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेलामा सहभागिहरुले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति देखिएको बताउँदै कसैले पनि गल्ती स्वीकार नगरेकोमा गिरिले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य परशुराम बस्नेतलगायतले बोलेका थिए।