खबर पूर्वाञ्चल
कांग्रेसको भावी उत्तराधिकारी र मन्त्री परिवर्तनको विषयमा सोधिएका प्रश्नहरूमा देउवा जंगिएका हुन्।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ बहुमतबारे सहमति नभएको स्पष्ट पारे। उनले भने, ‘संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ। त्यसका लागि सहमति भइसकेको छैन।’ यद्यपि, संविधान संशोधनका लागि कार्यदल भने चाँडै बन्ने उनले बताए।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनको सम्भावनाबारे सोधिएको प्रश्नमा देउवाले आफूलाई कुनै जानकारी नभएको बताए। ‘‘संविधानले केही पनि भनेको छैन। यसबारेमा मलाई त्यति जानकारी छैन,’ उनले भने। सामाजिक सञ्जाल बन्द गर्ने नभई दर्ता गर्नुपर्ने विषयमा पनि उनले स्पष्टीकरण दिए। ‘ओलीजीले सामाजिक सञ्जाल दर्ता गर्नुपर्छ भन्नु भएको छ। बन्द गर्ने भन्नु भएको छैन,’ उनले अदालतले पनि दर्ता गर्न भनेको उल्लेख गर्दै भने।
तर, सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने विषयमा पत्रकारले जिज्ञासा राख्दा देउवा एकाएक रिसाए। ‘तपाईलाई मन्त्री परिवर्तन गर्ने भनेर कसले भन्यो ? कसले भन्यो ? मलाई थाहा छैन। मिडियामा आएको कुरा तपाँईहरूलाई थाहा होला। मन्त्रीहरूलाई फिर्ता बोलाउने कुरा भएको छैन,’ देउवाको जवाफ थियो।
नेपाली कांग्रेसको महाधिवेशनको मिति केन्द्रीय समितिले तोक्ने बताउँदै गर्दा, जब पत्रकारले ‘कांग्रेसको उत्तराधिकारी अब को हुन्छ ?’ भनेर प्रश्न गरे, देउवा पुन : आक्रामक रूपमा प्रस्तुत भए। रिसाउँदै उनले प्रतिप्रश्न गरे, ‘तपाईँ हुनुहुन्छ।’ देउवाको यो जवाफले पत्रकारहरूलाई स्तब्ध बनाएको थियो।