AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा निस्कियो भीमसेनजात्रा : संस्कृति संरक्षणमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ भाद्र २०८२, शनिबार १७:२७
126
Shares
विराटनगर / विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा आज भीमसेनजात्रा निस्किएको छ।

परम्परागत नेवारी संस्कृतिको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा मानिने यो जात्रा प्रत्येक वर्ष इन्द्रजात्राका दिन विराटनगरमा निकालिँदै आएको छ।

मन्दिर परिसरमा आयोजित औपचारिक कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले भीमसेनको मूर्तिमा पूजापाठ गरी जात्राको उद्घाटन गरेकी थिइन्। त्यसपछि सुरु भएको झाँकीसहितको भीमसेनजात्रा ट्राफिकचोक, महेन्द्रचोक, शनिमन्दिर, भृकुटीचोक, डिएसपी रोड हुँदै अतिथिसदन, जलजलाचोक, बुधहाटचोक, रेम्बो गल्ली पार गर्दै पुनः सनसारी माईस्थानमा पुगी सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख कार्कीले नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकका रूपमा चिनाउँदै यसका हरेक जातजातिले आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताइन्। उनले आर्थिक दृष्टिले नेपाल अझै कमजोर भए पनि सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाका कारण नेपाल विश्वमै धनी मुलुकको रूपमा चिनिन सक्ने क्षमता रहेको उल्लेख गरिन्।
“नेवारी संस्कृति नेपालको धरोहर हो। यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ। विराटनगरमा निकालिने भीमसेनजात्रा पनि यसैको एउटा महत्वपूर्ण प्रतीक हो,” उनले भनिन्।

उपप्रमुख कार्कीले जात्रालाई निरन्तरता दिन तथा मन्दिरको संरचना निर्माणमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन्।

भीमसेन मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक संजय श्रेष्ठले प्रत्येक वर्ष जात्रा अझै भव्य बन्दै गएको जानकारी दिए। उनका अनुसार मोरङका विभिन्न स्थानमा बसोबास गर्ने नेवारी समुदायका व्यक्तिहरूको सहभागिता बढ्दै गएको छ। “परारभन्दा पोहोर, र पोहोरभन्दा यसपटक झनै भव्य रूपमा जात्रा सम्पन्न भएको छ,” श्रेष्ठले भने।

यसैगरी समितिका महासचिव भविसकुमार श्रेष्ठले भीमसेनजात्राले नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा, कला र संस्कृतिप्रति आकर्षित गर्न मद्दत पुगोस् भन्ने अपेक्षा व्यक्त गरे। उनले पछिल्लो समय नेपाली समाजमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएको उल्लेख गर्दै भीमसेनजात्राजस्ता मौलिक संस्कृतिले युवापुस्तालाई आफ्नै परम्परा र मूल्यप्रति सचेत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे। “हाम्रो संस्कृति नै हाम्रो पहिचान हो। त्यसलाई जोगाउनु प्रत्येक समुदायको जिम्मेवारी हो,” उनले जोड दिए।

भीमसेन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेश श्रेष्ठले नेवार समुदायको संस्कृति संरक्षणमा ध्यान दिँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर