खबर पूर्वाञ्चल
आज प्रेस चौतारी मोरङले आयोजना गरेको तिज मिलन कार्यक्रममा बोल्दै उप–सभामुख दनुवारले तिजले विविधतामा एकता कायम गर्न सहयोग पु¥याएको बताइन् । “हिन्दू महिलामात्र नभई विभिन्न धर्म मान्ने महिलाले पनि तिजलाई आत्मसात गरेका छन् । तिजको अवसरमा हुने महिला अधिकार र सशक्तिकरणबारे छलफलमा सहभागि हुन थालेका छन्,” उनले भनिन् ।
उप–सभामुख दनुवारले विभिन्न समुदायका पर्वमा सार्वजनिक विदा दिइने प्रचलन भए पनि महिलाको जनसंख्या बढी हुँदाहुँदै तिज पर्वमा भने सार्वजनिक विदा दिने नगरेको बताईन् । यो विषयमा सरकारले सोच्नुपर्ने उनको तर्क थियो ।
उनका अनुसार व्यस्त जीवनशैलीका बीच पनि महिलाले समय निकालेर रमाइलो गर्नु सकारात्मक पक्ष हो । तर, संविधानमै महिला अधिकारको व्यवस्था भएको भन्दै प्राप्त अधिकारलाई व्यवहारमा कसरी उपभोग गर्ने भन्ने विषयमा तिज पर्वमार्फत गम्भीर बहस गर्नुपर्नेमा उनले जोड दिइन् ।
तिजबारे पछिल्ला दिनमा लागेको “भड्किलो” भन्ने आरोपलाई अस्वीकार गर्दै दनुवारले भड्किलो नभएको बताईन् । “पहिला सुनका गहन लगाउनै पर्ने हुन्थ्यो, अहिले भने त्यस्तो प्रचलन घटेको छ । कतै मासु बढी प्रयोग होला तर, त्यो पनि सामान्य नै हो,” उनले भनिन् । महिलाहरु आर्थिक रुपमा सक्षम हुँदै गईरहेको अवस्थामा कमाएको थोरै रकम मनोरञ्जनको क्षेत्रमा खर्च गर्नु कुनै भड्किलो नभएको उनको भनाई छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उप–मेयर शिल्पा निराला कार्कीले तिज महिलाहरुको स्वतन्त्रता र खुशी दिने पर्व भएको बताईन् । कार्कीले तीज केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक, सामाजिक र भावनात्मक एकताको प्रतीक भएको बताउँदै तिजले नेपाली महिलाको जीवनमा विशेष अर्थ बोकेको समेत बताईन् ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुँईटेलले तिज पर्व महिलाहरुको सशक्तिकरणको पक्षसँग पनि जोडिने बताए । उनले कुनै पनि क्षेत्रमा महिला र पुरुषबीच सहकार्य हुन सक्यो भने मात्र सफलता प्राप्त हुने बताए ।
सचिव लुँईटेलले पत्रकारिता पेशामा महिलाहरुलाई टिकाई राख्न समस्या देखिएको बताउँदै तिजको अवसरमा पेशाको सम्भावना र चुनौतिका विषयमा पनि छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले तिजलाई समावेशी बनाउन सक्यो भने एकले अर्कोको अस्तित्व बुझ्ने समेत बताए ।
प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापाको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ जिल्लामा पत्रकारिता गरिरहेका पत्रकार महिलाहरुको सहभागिता रहेको थियो । तिज आउन अझै केही दिन बाँकी भए पनि यसको रमाइलो भने सुरु भइसकेको छ । यो पर्व विशेषगरी शिव–पार्वतीको उपासना गर्ने दिनका रूपमा लिइन्छ । धार्मिक दृष्टिले यस दिन महिलाले व्रत बस्दै भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्छन् ।
सांस्कृतिक रूपमा तिजले महिलाबिच एकता, आत्मीयता र खुसी बाँड्ने अवसर दिन्छ । महिला दर खाने, गीत गाउने, नाच्ने र विभिन्न परम्परागत पोशाकमा सजिने गर्छन् । यसले उनीहरूको संस्कृतिलाई जगेर्ना गर्ने मात्र नभई आपसी सम्बन्धलाई बलियो बनाउँछ ।
सामाजिक दृष्टिले तिज महिलाको आवाज अभिव्यक्त गर्ने पर्व पनि हो । तीजका गीतमा महिलाले आफ्ना पीडा, अभाव, अधिकार र सामाजिक यथार्थलाई प्रकट गर्ने गर्छन् । यसरी तिज महिलाको आत्मबल, संस्कृतिको संरक्षण र सामाजिक चेतना फैलाउने माध्यमका रूपमा महत्त्वपूर्ण पर्वको रूपमा रहेको छ ।