खबर पूर्वाञ्चल

मृतकका आफन्तका अनुसार, पौडेललाई गत साउन १४ गते सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको थियो। सोही दिन शल्यक्रियामार्फत उनले दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन्। नवजात शिशुको स्वास्थ्य सामान्य रहेकाले साउन २० गते डिस्चार्ज गरिएको थियो, तर सुत्केरी जमुनाको स्वास्थ्यमा भने सुधार आएन।
शल्यक्रियापछि उनलाई सुरुमा पोस्ट अपरेटिभ वार्डमा सारिएको थियो। तर, स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो।
चिकित्सकको लापरवाहीले ज्यान गएको आफन्तको दाबी
मृतकका आफन्तले शल्यक्रियाकै क्रममा चिकित्सकको गल्तीका कारण अत्यधिक रक्तश्राव भएको र समयमै उचित उपचार नपाउँदा जमुनाको ज्यान गएको आरोप लगाएका छन्। ‘स्वस्थ मान्छेलाई अस्पताल ल्यायौँ, शल्यक्रिया सफल भयो भनियो, तर आज उहाँको ज्यानै गयो,’ आफन्तले भने, ‘यो सरासर डाक्टरको लापरवाही हो। दोषीलाई कारबाही हुनुपर्छ।’
यता, अस्पताल प्रशासनले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गरेको छ। प्रशासनका तर्फबाट छलफलमा सहभागी प्रमेशराज देवकोटाले शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएका कारण बिरामीको स्वास्थ्य जटिल बनेको र बचाउन सकिने सबै प्रयास गर्दागर्दै पनि सफल हुन नसकेको बताए । ‘शल्यक्रियापछि बिरामीमा अत्यधिक रक्तश्राव देखियो। चिकित्सकको टोलीले उहाँलाई बचाउन अन्तिम समयसम्म प्रयास गरेको हो, तर दुर्भाग्यवश हामी सफल हुन सकेनौँ,’ देवकोटाले पीडित पक्षसँगको छलफलमा भने।
आक्रोशित आफन्तहरूले लापरवाही गर्ने चिकित्सकलाई तत्काल कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र जेठी छोरीको सम्पूर्ण शैक्षिक खर्च अस्पतालले व्यहोर्नुपर्ने माग राखेका छन्। उनीहरूले १० लाख रुपैयाँ क्षतिपूर्तिको मागसमेत गरेका छन्।
आज दिउँसोदेखि अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता भइरहेको छ। वार्तामा कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि र पीडितका आफन्तहरू सहभागी छन्। माग पूरा नभएसम्म शव नउठाउने आफन्तले अडान लिएका छन्, जसकारण अस्पताल परिसरमा तनाव कायमै छ।