पूर्वाञ्चल खबर

संघीय सरकारबाट ठेक्का प्रदान गरिएको यो सडक निर्माणमा ढिलाइ भएपछि राजनीतिक दलसहित विभिन्न संघसंस्थाले सर्वदलीय बैठक गरेर पटकपटक आन्दोलन गरेका छन् । ठेकेदारका प्रतिनिधिलाई बोलाएर जिल्ला प्रशासन कार्यालय मोरङमा पटकपटक छलफल भए पनि सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
२०७६ कार्तिक २४ गते तीन वर्षमा सम्पन्न गर्ने सम्झौता भएर २०७९ कार्तिक २३ गते श्रेष्ठ कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँमा ठेक्का लिएको थियो । तोकिएको सम्झौतामा निर्माण पूरा हुन नसकेपछि दोश्रो पटक म्याद थप गरेर २०८२ जेठ मसान्तसम्म निर्धारण गरिएको थियो । तर दोश्रो पटक थप भएको म्यादमा पनि निर्माण कार्य पूरा भएको छैन ।
यो हुलाकी सडक मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर खण्डको हो । २०७६ सालमा तीन वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का तीन अर्ब ६० करोड रुपैयाँ लागतमा प्रदान गरिएको थियो । उक्त ठेक्का गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले लिएका छन् ।
सुवास श्रेष्ठ संचालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनको नयाँबजारदेखि सिंघियाखोलासम्मको ६ किलोमिटर पिच गर्ने काम बाँकी रहेको छ । त्यसभन्दा उत्तरको काम लगभग पूरा हुन लागेको छ । श्रेष्ठ कन्स्ट्रक्सनले निर्माण पूरा गर्न नसकेपछि ६ महिना अगाडि काँग्रेसका नेता अभिषेक गिरीलाई पेटी ठेक्का दिएका छन् ।
हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेलले ठेकेदार श्रेष्ठ अहिले पनि सम्पर्कविहीन रहेको जानकारी दिए । ‘यो सडकको निर्माण प्रक्रियाको म्याद सकिएको छ । दोश्रो पटक म्याद थप गरिएको पनि जेठ मसान्तमा सकिएको छ,’ उनले भने, ‘भौतिक प्रगति ६ वर्षमा २७ प्रतिशत मात्र भएको छ ।’ ठेकेदार कम्पनी सम्र्पकमा आएर काम नगरे बिकल्प खोजिने उनले बताए ।
सडक निर्माण पूरा नहुँदा सर्वसाधारणले गम्भीर कष्ट भोग्नुपरेको छ । वर्षामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको कटहरीका स्थानीय गोकुल भट्टराईले बताए । ‘प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफल गरेको २२ औँ पटकभन्दा बढी भइसक्यो । छलफलमा छिट्टै पिच भइहाल्छ भनेर ठेकेदार र उनका प्रतिनिधिहरूले भन्छन् । तर सडक बन्दैन,’ उनले भने, ‘अब प्रक्रिया तोडेर ठेकेदारलाई कारबाही गरेर नयाँ प्रक्रियाबाट काम सुरु गरे मात्र निर्माणले गति लिनेछ । नत्र यहाँका जनताले यस्तै सास्ती पाउनेछन् ।’
कटहरी वडा नम्बर २ का पूर्व वडाअध्यक्ष किशोर पाण्डेले निर्माण व्यवसायीको बेवास्ताले सडक अलपत्र पर्दा सर्वसाधारणले अनगिन्ती कष्ट भोग्नुपरेको बताए । ‘अहिले सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था छैन । धुलोले हैरानी भएको छ । अब वर्षा सुरु भएको छ । यही बाटो भएर विराटनगरमा उद्योगमा काम गर्ने हजारौं श्रमिक साइकलमा हिंड्ने गरेका छन् । उनीहरूले अनगिन्ती कष्ट पाएका छन् ।’ उनले भने, ‘सडक पिच नभएको कारणले ठाउँठाउँमा खाडल बनेको छ । धेरैपटक सवारी दुर्घटनामा परेर सयौं मानिसको मृत्यु भएको छ । सडकका कारण यहाँका नागरिकले दुःख पाएको धेरै भयो । अब हामी सहन नसक्ने अवस्थामा पुगेका छौं ।’
ठेकेदारलाई कारवाही गर्न सांसदको माग
विराटनगर÷ हुलाकी सडकको ठेक्का लागेर पाँच वर्ष बितिसक्दा सडक पिच नभएपछि यस क्षेत्रका जनप्रतिनिधिहरूले ठेक्का प्रक्रिया तोडेर ठेकेदार कम्पनीलाई कारबाही गर्ने र नयाँ प्रक्रियाबाट काम सुरु गर्न माग राखेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सोमवार भएको सर्वदलीय छलफलमा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सांसद अमनलाल मोदीले ठेकेदार कम्पनीलाई पटकपटक भनेपछि पनि काम नगरेको भन्दै ठेक्का प्रक्रिया तोडेर ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेर नयाँ प्रक्रियाबाट काम सुरु गर्न सुझाव दिए ।
‘कटहरीका जनताले वर्षौंदेखि सास्ती खेप्न बाध्य भएका छन् । हुलाकी सडक समयमै नबनेको विषयमा मैले पटकपटक प्रतिनिधिसभामार्फत पनि सरकारको ध्यानाकर्षण गराएको छु । यहाँ आएर ठेकेदार कम्पनीलाई पनि भनिसकें । वर्षौं बितिसक्यो अहिलेसम्म २७ प्रतिशत मात्र प्रगति भएको छ । त्यो पनि अहिले ठेकेदारले पेटी ठेक्का दिएर ठेकेदार कम्पनी सम्पर्कमा नभएको जानकारी छ,’ उनले भने, ‘यसरी हुँदैन । समयमै काम नगर्ने ठेकेदारलाई कम्पनीको कालो सूचीमा राख्नका लागि प्रक्रिया अगाडि बढाएर ठेक्का तोडेर अब नयाँ प्रक्रियाबाट अगाडि बढ्नुपर्छ,’ उनले भने ।
धुलाम्मे सडकको कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनताको सामुन्ने आउनुपरेको बताए । सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिंड्न सक्ने अवस्था नरहेको उनले जनाए ।