AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी आरोपमा ५ पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ श्रावण २०८२, आईतवार १९:०३
135
Shares
विराटनगर /मोरङ, सुनसरी र झापामा पछिल्ला महिनाहरूमा बढिरहेको विद्युत ट्रान्सफर्मर चोरीको घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोशी प्रदेश प्रहरी र मोरङबाट खटिएको प्रहरी टोलीले चार जना सुनसरीबाट र एक जना मोरङको रंगेलीबाट शुक्रबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूको नाम गोप्य राखेको छ। पाँच जनालाई नियन्त्रणमा लिएर अरुको पनि खोजी कार्य तिव्र बनाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् । ‘अहिले पाँच जना पक्राउ परेका छन् । अरुको पनि खोजी कार्य जारी छ,’ उनले भनिन् ।

पछिल्लो एक वर्षमा मात्र मोरङ, झापा र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी भएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार सबैभन्दा धेरै चोरी सुनसरीमा १२ वटा भएको छ । मोरङमा ८ र झापामा २ ट्रान्सफर्मर चोरी भएका छन्।

पछिल्लो दुई दिनमा मात्रै सुनसरीमा २ ट्रान्सफर्मर चोरी भएका छन्। साउन ६ गते बराहक्षेत्र–४ जमटोकीमा र साउन ९ गते देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाही राजाजीथानमा चोरी भएको हो। यसअघि जेठ महिनामा मात्र सुनसरीमा ३ ट्रान्सफर्मर चोरी भएका थिए। असार २ गते २ र चैत २४ गते १ ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजिव सिंहका अनुसार मोरङ र सुनसरीका ग्रामीण क्षेत्रमा सिँचाइ र खानेपानीका लागि जडान गरिएका ट्रान्सफर्मरहरू निरन्तर चोरीको लक्ष्य बनेका छन्। “श्रृंखलाबद्ध चोरी बढ्दै गएपछि हामीले प्रदेश प्रहरी कार्यालय, विराटनगरमा उजुरी दिएका छौँ,” सिंहले भने, “यो अब सामान्य घटना जस्तो हुन थालेको छ, जुन अत्यन्तै चिन्ताजनक अवस्था हो।”

चोरहरूले ११ हजार भोल्टको लाइन सर्ट गराएर ट्रान्सफर्मर झार्ने र तामाको क्वाइल निकाल्ने गरेका छन्। चोरी हुने ट्रान्सफर्मर ५० केभी र १०० केभी क्षमताका हुन्छन्। ५० केभीको मूल्य ५–६ लाख र १०० केभीको मूल्य ११–१२ लाख रुपैयाँ पर्छ।

यसरी २२ ट्रान्सफर्मर चोरी हुँदा प्राधिकरणलाई २ करोड २० लाख रुपैयाँभन्दा बढीको प्रत्यक्ष क्षति भएको छ। “यो केवल ट्रान्सफर्मरको मूल्य हो। टान्सपोर्टेसन, श्रम, बक्यौता नउठ्ने रकम आदि थप्दा नोक्सानी अझ ठूलो हुन्छ,” सिंहले बताए।

ट्रान्सफर्मरभित्रको तामाको क्वाइल महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीको घटना बढेको हो। एक ट्रान्सफर्मरबाट मात्र चोरहरूले लाखौँ रुपैयाँको कमाइ गर्छन्। सिंहका अनुसार हाल सिँचाइ, खानेपानी र ग्रामीण विद्युतीकरणका अधिकांश ट्रान्सफर्मर उच्च चोरी जोखिममा छन्। “चोरीका कारण विद्युत आपूर्ति अवरुद्ध हुनुका साथै किसान र उद्योगीहरूलाई ठूलो आर्थिक नोक्सानी भइरहेको छ,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर