पूर्वाञ्चल खबर
नेता खाँडले विराटनगरको कोइराला निवास पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै उक्त विचार व्यक्त गरेका हुन् । कोइराला निवासको भ्रमणलाई राजनीतिक गुटसँग जोडेर नहेर्न आग्रह गर्दै उनले भने, कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिक स्थल गएको जस्तै हो । यो कुनै गुटको हिसाबले हेर्ने ठाउँ होइन ।” उनले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको भावनात्मक सम्बन्ध आम नागरिकसँग रहेको र उनीहरू प्रातःस्मरणीय महामानव भएको बताए ।
पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण पार्टी सभापति शेरबहादुर देउवासँगको असन्तोषपछि विराटनगरस्थित कोइराला निवासमा आएर आज कोइराला निवासमा उनको उपस्थितिलाई नेपाली कांग्रेसको आन्तरिक राजनीति र नेतृत्वको आगामी संरचनासँग जोडिएर गम्भीर रूपमा हेरिएको छ ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि लामो समय सार्वजनिक रूपमा सक्रिय नदेखिएका खाँणको यो सक्रियता र उपस्थिति कांग्रेसभित्र गहिरो अर्थ राख्दछ । यद्यपि उनले गुट परिवर्तनको स्पष्ट घोषणा गरेका छैन । यद्यपि कोइराला निवासमा गरिएको पत्रकार सम्मेलनले डा. शेखर कोइरालाको नेतृत्वमा रहेको धारसँग उनको निकटता रहेको प्रस्ट पारेको छ ।
पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै उनले सभापति सफल भए मात्र पार्टी सफल हुने धारणा राखे ।पार्टीको आगामी महाधिवेशनबारे पत्रकारको प्रश्नमा नेता खाँडले पार्टी विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने व्यवस्था रहेको स्पष्ट पारे । उनले १४ औं महाधिवेशन पनि एक वर्ष थपेरै गरिएको स्मरण गराउँदै १५ औं महाधिवेशन पनि समयमै सम्पन्न हुने बताए । आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले अहिले आफू केन्द्रीय समितिमा रहेको र महाधिवेशन सम्पन्न गराउने भूमिकामा क्रियाशील रहने बताए । उनले भने पार्टीको नेता चयन गुटभन्दा माथि उठेर गर्नुपर्दछ ।”
सरकारको कामकारबाहीबारे खाँडले वर्तमान चुनावी जनादेशअनुसार कुनै पनि दलको एकल सरकार बन्न नसक्ने भएकाले गठबन्धन आवश्यक भएको बताए । कांग्रेस र एमालेबीचको गठबन्धन पहिलो पटक नभएको उल्लेख गर्दै उनले विगतमा पनि पटक–पटक सहकार्य भएको स्मरण गराए । सरकारले गरेका केही सकारात्मक कामहरू, जस्तै ‘पढ्दै कमाउँदै’ कार्यक्रम र हरित हाइड्रोजन उत्पादनको योजनाको प्रशंसा गर्दै उनले गठबन्धनभित्रैबाट सरकारका कमीकमजोरी सुधार गर्ने प्रयास भइरहेको जानकारी दिए । उनले भने, “यो गठबन्धनलाई २०८४ सालको चुनावसम्मै लिएर जानु छ । त्यहाँ भएका कमीकमजोरीलाई सुधार्ने हो ।”
पार्टीको अनुशासन समितिले गरेको कारबाहीबारे सोधिएको प्रश्नमा उनले त्यसलाई ठीक वा बेठीक नभन्ने बताउँदै उक्त निर्णय प्रक्रियागत भएको र त्यसमाथि केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिने बताए ।