खबर पूर्वाञ्चल
ल्याब निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउने योजनाअनुसार विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयलाई बिहीबार लेनोभो अल इन वन कम्प्युटर १२ थान, प्रिन्टर १ थान, युपीएस १२ थान, एन्टिभाइरस १२ थान, एपी राउटर १ थानलगायत अन्य सामग्रीहरू हस्तान्तरण गरिएको टेलिकमले जनाएको छ । उक्त सामग्रीहरू नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगरका निर्देशक बिमलेश झा र नेपाल टेलिकमका सप्रअ प्रकाश शर्माले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोजविक्रम शाह तथा प्रधानाध्यापक चिन्तामणि रिजाललाई हस्तान्तरण गरेका छन् ।
विभिन्न स्थानमा रहेका आठवटा आईसीटी विद्यालयहरूलाई ल्याब निर्माणका लागि माथि उल्लेखित सामग्रीहरूकै संख्यामा उपलब्ध गराउने योजना अनुरूप छवटा स्थानका विद्यालयहरूमा सामग्री हस्तान्तरण कार्य सम्पन्न भइसकेको बताइएको छ ।
मुलुकका विभिन्न स्थानमा नवीनतम सञ्चार प्रविधि उपलब्ध गराउने कार्यमा सधैं प्रतिबद्ध रहेको र समाजका विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू विगतमा पनि गर्दै आएको निर्देशक झाले कार्यक्रममा जानकारी गराए ।