खबर पूर्वाञ्चल


मोरङ प्रहरीले अनुसन्धान पुरा गरेपछि १३ माघ २०७७ मा मन्टु विरूद्ध मुद्दा दायर भयो । मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधरणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको खुलेको थियो । मिटरब्याजमा ऋण दिएको भन्दा पाँच गुणा बढी रकम असुली गरिसक्दा पनि उनीहरूबाट अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ १७ जना पीडितहरूसँग माग गरेको अभियोग पत्रमा उल्लेख छ ।
त्यसपछि अदालतमा दायर भएको अभियोग पत्र अनुसार मन्टुले १७ जना सर्वसाधरणलाई विभिन्न मितिमा ‘ठगी’ र अपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो । २०७७ माघ २० गते मोरङ अदालतका तत्कालिन न्यायाधीश इश्वर पराजुलीको इजालशले मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिए । त्यसपछि उनी मोरङ कारागार चलान भए ।
कारागार गएपछि फैसला हुनुभन्दा अगाडी बकपत्र भयो । त्यसबेला मन्टु विरुद्ध उजुरी दिने १७ जना सर्वसाधरणको जग्गा फिर्ता गरिदिने भने । त्यसबेला निवेदन दिने र मन्टुबीच जग्गा फिर्ता गरिदिने आन्तरिक छलफल भयो । मन्टुले सहमतिको पत्रमा हस्ताक्षरको लागि श्रीमती ज्योती रौनियार अख्यितारी दिए । वडा कार्यालयमा निवेदक दिने १७ जना र मन्टुको तर्फबाट श्रीमती ज्योतीले जग्गा विक्री गर्ने सहमति २०७७ चैत ८ गते भयो । मन्टुको नाममा रहेको जग्गा १७ जना निवेदकले पैसाँ दिएपछि फिर्ता गरिदिने भए । मन्टु त्यसबेला पुर्पक्षको लागि थुनामा रहेकोले उनको श्रीमती रौनियारलाई मालपोत कार्यालय विराटनगरमा पैसा दिएपछि जग्गा आफ्नो नाममा आएको पत्रकार सम्मेलनमा अमितकुमार यादवले बताए । ‘यसरी जग्गा फिर्ता ल्याएपछि अहिले मन्टुले हुलाकमाफर्त २५ लाख ५० हजार रुपैयाँ माग्ने गरेको छ । नदिए कानुन अनुसार कारवाही गर्ने भन्दै धम्कीपूर्ण पत्र पठाएको छ,’ उनले पत्रकार सम्मेलनमा मन्टुले जेठ १४ गते बुधबारको दिन पठाएको पत्र देखाउने भने, ‘जेलबाट छुटेपछि फेरी मन्टुको पुरानो मिटरब्याज र असुली धन्दा चलाउन थालेको रहेछ । त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जनामध्ये ११ जनालाई पत्रचार गरेर पैसाँ माग्दैछन् । यो गैरकानुनी धन्दाको विरुद्ध हामी फेरी पीडितहरु संगठित भएर न्यायको खोजीमा जानेछौं ।’
२०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतको तत्कालिन न्यायाधीश कपिलमणि गौतमको इजालशले मन्टुलाई ठगी र अपराधिक लाभ मुद्दाबाट सफाइ पाए । जेलबाट मन्टु छुटेर आएपछि अहिले प्रहरी प्रशासान आफ्नो पक्षमा रहेको भन्दै मैले भनेजति पैसाँ नदिए थुनामा पठाउने भन्दै धम्की दिने गरेको पत्रकार सम्मेलनमा विराटनगर ८ का गणेश रायले गुनासो गरे । मन्टुले हुलाकमार्फत पत्रचार गरेर २५ लाख रुपैयाँ दिनुपर्ने भन्दै पत्र पठाएको उनले देखाए । गणेशका अनुसार उनका ज्वाइ महानन्द रायले मन्टुसँग एक क्ठा जग्गा र टिनको घरसहित राजिनामा पास गरेर २ लाख ५० हजार रुपैयाँ लिएका थिए । विभिन्न मितिमा मन्टुलाई ज्वाइले पाँच लाख रुपैयाँ दिए । पछि मन्टु जेलगएपछि उनको श्रीमितीलाई २५ लाख रुपैयाँ दिएपछि एक कठ्ठा जग्गा र घर आफ्नो नाममा ल्याएको गणेश रायले बताए । ‘मन्टु जेलबाट छुटेर आएपछि ज्वाइ महानन्दलाई घरभाडा बापत ९ लाख रुपैयाँ नबुभाएको भन्दै मुद्दा हाले । मोरङ अदालतले ९ लाख रुपैयाँ तिनुपर्ने पैसला पनि गर्यो । तर, अदालतले भनेजति पैसाँ तिर्न नसकेपछि ज्वाइ महानन्द राय १३ असोज २०८१ मा जेल गए । उनलाई बिगो बरावरको दुई वर्ष कैद सजाय भयो । जेल बसेको एक महिनापछि ज्वाइको मृत्यु भयो,’ पत्रकार सम्मेलनमा गणेशले भने, ‘मन्टुले अदालतमा मुद्दा दिएपछि ज्वाइ तनावमा रहनुभएको थियो । मन्टुले दिएको तनावले ज्वाइको मृत्यु भयो ।’
धनपालथान १ नोचाका गुल्जार मियाँले आफ्नो बावु इनुस मियाँको नाममा मन्टुले पठाएको पत्र आफुले नलिएको बताए । ‘उनले भनेजति पैसाँ दिएपछि जग्गा बुवा इनुस मियाँको नाममा आएको छ । अहिले फेरी मन्टुले दुःख दिने नियतले पत्रचार गरेकोले आफुहरुले नबुझेको हो ।’ यसरी अहिले मन्टुले विरुद्ध प्रहरीमा उजुरी दिने ११ जनालाई पैसाँ माग्दै पत्रचार गरेको उनीहरुले बताए । मन्टुले पठाएको पत्रचारमा सबैलाई एकै प्रकारको भाषा प्रयोग गरेर पठाएका छन् ।
मन्टुले पत्रचार गरेको मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका वासिन्दा रहेका छन् । उनीहरुले मन्टुसँग वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे । तर मन्टुले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् । मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसाँ उठान एजेन्ट गाउँमा खटाउने गरेको थिए ।
जग्गा विक्री गरेको जग्गाको पैसा मागेको हो : मन्टु
विराटनगर । मन्टु भनिने संजयप्रसाद रौनियारले भने विक्री गरेको जग्गाको पैसाँ माग्न पत्रचार गरेको बताए । उनले आफूमाथि लागेको अरु सबै आरोप भने अस्वीकार गरेका छन् । उनले भने, ‘मैले जेलमा हुँदा जग्गा बिक्री भएको थियो, तर त्यसको पैसा अहिलेसम्म पाएको छैन । मैले चिठी पठाएर धम्की दिएको होइन, आफ्नो पैसा मागेको मात्रै हो ।’
उनको दाबी अनुसार, सम्बन्धित व्यक्तिहरूले जग्गा बिक्री गर्दा खातामा पैसा राख्ने भनेका थिए, तर अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । ‘यदि पैसा दिइएन भने कानुनी प्रक्रिया अगाडि बढाउछु,’ उनले भने, ‘मैले चिठी पठाएर धम्की दिने गरेको छैन । आफु कारागारमा रहदा मैले जग्गा विक्री गरेको थिए । त्यसबेला मेरो खातामा पैसाँ हालिदिन्छु भनेको थियो । अहिलेसम्म मैले विक्री गरेको जग्गाको पैसाँ पाएको छैन । तेही पैसाँ माग्न मैले उहाँहरुलाई पत्रचार गरेको हो । धम्की दिएको छैन ।’ आफुले अहिले कसैलाई पनि मिटरब्याजमा पैसाँ नलागएको पनि उनले दाबी गरेका छन् ।