AArya
RUMPUM
animated ellipse animated ellipse

मोबाइल लुटपाट गरेर अभिभावकसँग फिरौती रकम माग्ने तीन जना विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ जेष्ठ २०८२, बुधबार १३:३७
837
Shares
विराटनगर / प्रहरीले फिरौती रकम माग गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

भारतीय नागरिकसँगको मिलेमतोमा किशोरको साथबाट मोबाइल लुटपाट गरेर अभिभावकसँग फिरौती रकम मागेको घटनामा संलग्नहरुलाई विराटनगरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार रहेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह भने फरार छन् । उनको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापुका प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ तरहराका आशिष गुरुङ विराटनगरको ट्राफिक चोक नजिकको टम एण्ड जेरी होटलमा काम गर्दै आएका थिए । उनीहरुलाई २–३ दिनअघि साथीहरुले भारतको जोगवनी पुर्याए ।

जोगवनी पुर्याएर प्रज्ञानको साथमा भएको मोबाइल लुटपाट गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले बताए । मोबाइल लुटपाट गरेर आक्रमण गर्न खोजेपछि उनीहरु भागेर नेपाल आएका थिए । डीएसपी जबेगूका अनुसार लुटपाट गरेकै मोबाइलबाट फोन गरेर प्रज्ञानका अभिभावकसँग फिरौतीबाट ३० हजार रूपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

‘छोरा चाहिन्छ भने ३० हजार पैसा लिएर विराटनगरको विग होटल छेउमा आउनु’ भनेर फोन गएपछि प्रज्ञानका बुवा खेमप्रताप राईले मंगलबार विहान इलाका प्रहरी कार्यालय धरानमा खबर गरेका थिए । त्यसलगत्तै मोबाइल लुटपाट गरेर फिरौती माग्नेको खोजीका लागि धरानबाट प्रहरी निरिक्षक जीवन कुँवर नेतृत्वको टोली विराटनगर आइपुगेको थियो ।

धरानबाट खटिएको टोलीले मोरङ प्रहरीसँग समन्वय गरेर मोबाइल लुटपाट र फिरौती रकम मागेको घटनामा संलग्नलाई पक्राउ गरेको हो । धरानका डीएसपी जबेगूका अनुसार सुरुमा विराटनगर बसपार्कबाट प्रलव र दीपक पक्राउ परेका थिए ।

सोधपुछ गर्न थालेपछि उनीहरुले दिएको सूचनाका आधारमा मुकेश पक्राउ परेको उनले बताए । तर, उनीहरुले भारत जोगवनीका गोलु सिंहले फिरौती रकम लिन पठाएको बयान प्रहरीलाई दिएका छन् ।

सिंह फरार रहेकाले खोजी भइरहेको जानकारी डीएसपी जबेगूले दिए । उनका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ ।

रानीका प्रहरी निरिक्षक कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको हो । तत्कालका लागि प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । अनुसन्धानबाट थप कुरा खुलेमा कारबाहीको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

डीएसपी जबेगूका अनुसार घटनामा पीडित भनिएका प्रज्ञान र आशिषसहित विराटनगर–१५ की २० वर्षीय विजेता तामाङलाई इटहरी–१९ तरहराबाट सकुशल उद्धार गरिएको गरिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले आवश्यक परेका बेला उपस्थित हुने सर्तमा मंगलबार साँझ अभिभावकको जिम्मा लगाएर पठाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पीडित र पीडक साथी–साथी हुन् । ‘सुरुमा उनीहरु सल्लाहमै जोगवनी पुगेको देखिन्छ । उनीहरु किन जोगवनी पुगेका थिए भनेर अनुसन्धान भइरहेको छ । तर, त्यहाँ पुगेपछि साथमा भएको मोबाइल लुटपाट गरेर आक्रमण गर्न खोजिएपछि प्रज्ञान र आशिष भागेर नेपालतिर आएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ,’ जबेगूले भने ।

उनका अनुसार पछि प्रज्ञानकै मोबाइलबाट फोन गरेर अभिभावकसँग फिरौती रकम माग गरिएको थियो । त्यसपछि तत्काल प्रहरी परिचालन गरेर फिरौती माग्नेहरुलाई पक्राउ गरियो र पीडित भनिएकालाई उद्धार गरिएको डीएसपी जबेगूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर