AArya
RUMPUM
animated ellipse animated ellipse

खेलकुद बोर्डले एकतर्फी रूपमा तदर्थ समिति गठन गरेपछि कराते महासंघ कोशी प्रदेशले गर्यो विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ बैशाख २०८२, सोमबार १९:०२
261
Shares
विराटनगर / प्रदेश खेलकुद विकास बोर्ड कोशीद्वारा नेपाल कराते महासंघ कोशी प्रदेशमा गठित गरिएको तदर्थ समितिले गम्भीर विवाद सिर्जना गरेको छ ।

बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एकतर्फी रूपमा तदर्थ नयाँ समिति गठन गरेपछि कराते महासंघ कोशी प्रदेश कार्यसमितिले आज प्रेस विज्ञाप्ती जारी गरेर कडा विरोध जनाएको छ ।

‘प्रदेश खेलकुद बोर्डले अनधिकृत रूपमा हस्तक्षेप गरेर हाम्रो लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित समितिलाई धमिल्याउने प्रयास गरेको छ,’ सचिव राम लिम्बूले आक्रोशपूर्ण शब्दमा भने । ‘हामी दुई वर्षदेखि कराते खेलको विकासका लागि निरन्तर काम गरिरहेको छौँ, जसलाई राष्ट्रिय महासंघले समेत मान्यता दिइसकेको छ ।’

कराते महासंघ कोशी प्रदेशको वर्तमान कार्यसमितिले राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार विधिवत् रूपमा कार्य गरिरहेको र नेपाल कराते महासंघबाट समेत मिति २०८२ वैशाख २८ गतेको पत्रमार्फत कुबिरमान राई अध्यक्ष र राम लिम्बू सचिव रहेको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको जानकारी दिए ।

महासंघका पदाधिकारीहरूले बोर्डमा पटक–पटक दर्ता प्रक्रियाका लागि पहल गर्दा समेत सदस्य सचिव बस्नेतले जानाजानी अवरोध गरेको आरोप लगाएका छन् । ‘हामीलाई दर्ता गर्न अस्वीकार गरेपछि अहिले विवाद छ भन्दै नयाँ समिति गठन गर्नु षड्यन्त्र बाहेक केही होइन,’ उनले भने ।

हाल कुबिरमान राई अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्षद्वय सौरभ प्रधान, अनिल नेपाल, सचिव राम लिम्बु, कोषाध्यक्ष अनुशा विष्ट रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता तामाङ्ग, लोकेन्द राई, योगेन्द्र आचार्य, रेनुका राई, कमिक राई, मिलन कसजु, बिप्लव राई र मेनुका ठाकुर रहेका छन् ।

यसरी वर्तमान कार्यसमिति रहिरदा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले वैशाख २४ गते नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समितिको संयोजक प्रभाकर राना (रिक्की) लाई तोकेका थिए । रिक्की एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ मोरङका उपाध्यक्ष हुन् भने तसर्थ समिति घोषणा गर्ने सदस्य सचिव बस्नेत तेही महासंघको केन्द्रीय अध्यक्ष पनि हुन् ।

यसरी एकलौटि तरिकाले सदस्य सचिव बस्नेतले पदिय दुरुपयोग गरेर गठन गरेको ११ सदस्यीय तदर्थ समिति तत्काल खारेज गर्न कराते महासंघ कोशी प्रदेशले जोडदार माग गरेको छ । साथै, यदि आफ्नो मागलाई अवहेलना गरिए कानूनी उपचारमा जाने चेतावनी दिएको छ । ‘प्रदेश खेलकुद विकास बोर्डको यस्तो अलोकतान्त्रिक कदमले समग्र खेल क्षेत्रमा नै नकारात्मक सन्देश गएको छ,’ लिम्बूले थपे, ‘हामी न्यायका लागि अन्तिम विकल्पसम्म लड्न तयार छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर